काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले आफू कर्णाली प्रदेशमा संसदीय दलको नेता चुनाव लड्ने आकांक्षा राखेपछि गुटको शिकार हुनुपरेको बताएका छन्।
उनले पार्टीकै पदाधिकारी तहबाट गुट निर्माण भएको भन्दै त्यसको शिकार हुनुपरेको गुनासो पार्टी केन्द्रीय समितिसमक्ष राखे।
‘कम्युनिष्ट पार्टीको गढ मानिएको जिल्लाबाट दुई दुई पल्ट म निर्वाचित भएको छु। एकपल्ट संघमा र एकपल्ट प्रदेशमा। तर पनि लगातार गुटको शिकार हुनुपरेको छ। महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित मैले प्रदेश सभामा संसदीय दलको नेतामा प्रतिष्पर्धाको आकांक्षा राखेको थिएँ,’ उनले भने,’म चुनाव लडेर त्यसबाट प्राप्त जस्तोसुकै नतिजा सहजताका साथ स्वीकार गर्न तयार थिएँ। तर दिइएन। किन ? लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा गर्छु भनेर मैले चाहना राख्नु अपराध थियो ? त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौँ सभापतिज्यू ?’
उनले चुनाव लड्छु भन्दा पार्टीका पदाधिकारीबाट भएको व्यवहारको बारेमा पनि टिप्पणी गरे।
‘मैले संसदीय दलको नेता चुनाव लड्छु भन्दा पार्टीकै पदाधिकारीबाट कस्तो व्यवहार भयो ? जगजाहेर छ। त्यो अपराधको भागीदार कहिलेसम्म हुनुपर्ने हो ? के के सजाय पाउनुपर्ने हो?,’ उनले भने, ‘कांग्रेसको नेतृत्त्व तहमा बसेका जिम्मेवार नेताले गरेको यो व्यवहार हामीले कहिलेसम्म सहनुपर्ने हो ? लोकतान्त्रिक पार्टीमा विचार विमर्स हुनुपर्छ कि पर्दैन ?’
उनले केन्द्रीय समितिको बैठक लाइभ गरेर राम्रो नभएको पनि टिप्पणी गरे। उनले गठबन्धन कायमै राखेर राजनीतिक स्थिरता बनाउनुपर्ने पनि बताए।




