इटहरी- सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित युवतीहरूमाथि कुटपिट गर्ने तीन जना युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईले युवतीहरूबीच भएको कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरिएकाे जानकारी दिए।
असार २९ गते साँझ ५ बजेतिर भएको घटनामा बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बू, बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई र सोही वडाकी २२ वर्षीया विनिता उराँवलाई पक्राउ गरिएको उनले जानकारी दिए।
जसमध्ये लिम्बूलाई सोही दिन तथा राई र उराँवलाई मंगलबार इटहरीबाट पक्राउ गरिएको डीएसपी राईले बताए। बराहक्षेत्र ९ बस्ने १९ वर्षीया मनीषा राईसहित तीन जनाले प्रहरीमा उजुरी दिएको र कुटपिट गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले फरार रहेका उनीहरूको खोजी कार्य अगाडि बढाएको थियो।
अझै दुई जना फरार रहेकाले उनीहरूको पनि खोजी भइरहेको सुनसरी प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार कुटपिट गर्ने समूहका १९ वर्षीया सञ्जिता राई र निहाङ राईको खोजी भइरहेको छ।
उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
पक्राउ परेका तीनै जनामाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले बताएको छ।