साउने संक्रान्ति

देवघाटमा स्‍नान गर्नेको भीड

हिमाल प्रेस १ साउन २०८० ११:२६
18
SHARES
देवघाटमा स्‍नान गर्नेको भीड

तनहुँ– पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ। आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो।

कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटमा हरेक वर्षको साउने संक्रान्तिमा बोलबम मेला लाग्ने गर्छ। भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए।

मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको उनले जानकारी दिए। साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ।

यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण-पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ।

अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ।

औंसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औंसीसमेत मनाउँछन्।

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ।

मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक संघ संस्थाले साउने संक्रान्ति सोमबार परेकाले संक्रान्तिको दिनबाहेक अन्य सोमबार खासै महत्त्व नभएको बताएका छन्।

मलमास सुरु हुनुअगाडि असार र साउनको एक-एक सोमबार र मलमास सकिएपछि भदौको दुई वटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ।

महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आसा निषेध गरिएकाले साउने संक्रान्तिपछि साउन महिनाका ४ सोमबारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताए।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ। यस वर्ष साउनमा ५ सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ।

प्रकाशित: १ साउन २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =