काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ।
सीएनआई अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारी टोलीले शुक्रबार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, ऊर्जालगायत विषयमा छलफल गरेका थिए।
अध्यक्ष अग्रवालले ऊर्जामन्त्रीसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे।
भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने अग्रवालले जोड दिए।
नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा निजी क्षेत्रको पनि संलग्नता गराउन उनले आग्रह गरे। विद्युत् निर्यात भइरहेको अवस्थामा समेत स्वदेशी उद्योगले सहज रूपमा विद्युत् नपाइरहेको अग्रवालले गुनासो गरे।
छलफलका क्रममा ऊर्जामन्त्री बस्नेतले ऊर्जा विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा दशक’ घोषणा गरी अगाडि बढ्ने गृहकार्य भइरहेको बताए।