काठमाडौँ- नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार विष्णुहरि पाण्डेले परामर्श व्यवसायमा विदेशी लगानीको विरोध गरेका छन्। नेपालमा परामर्श व्यवसाय सञ्चालन गर्न नेपाली कम्पनीहरू नै सक्षम भएकाले विदेशी लगानी आवश्यक नभएको बताएका हुन्।
अध्यक्षमा उम्मेदवारी दिएसँगै पाण्डेले भने,‘एडटेक र एफडीआई कम्पनीको विरोधमा छौँ। यस विषयलाई हामीले घोषणापत्रमा नै उल्लेख गरेका छौँ। इक्यानको गरिमामा आँच आउने कुनै पनि काम मैले नेतृत्व गरेको समूहले गर्दैन।’
पाण्डेले इक्यानको आफ्नै भवनको परिकल्पना गर्दै नक्सासमेत सार्वजनिक गरेका छन्। उनले इक्यानलाई आर्थिक रुपमा सवल बनाउन मासिक ३ देखी ५ लाख रुपैयाँ आयश्रोत ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जसकोे परिणाम आफ्नो प्यानल निर्वाचित भएर आएको ६ महिनाभित्रै देखिने उनले दावी गरे।
उनले इक्यानका सदस्यलाई तालिम तथा व्यवसायीक दक्षता अभिवृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने, इक्यानका शाखालाई अधिकार सम्पन्न बनाउने, नेता संगठनको रूपमा रहेको इक्यानलाई अझ मजबुत बनाउने, सरकारले व्यवसायीको लागि ल्याउन खोजेको धरौटीको व्यवस्थालाई रोक्ने, इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने जस्ता विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले कुनैपनि बाहानामा वैदेशिक लगानी भित्राउन नदिने भन्दै यसको कडा विरोध गरे। त्यस्तै सरकारले लगाएको ३ प्रतिशत करका सम्बन्धमा पनि पुनरावलोकन गराउन समन्वय गर्ने बताए। पाण्डेले इक्यानमा तत्काल गर्नुपर्ने, केही समयपछि गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको खाकासमेत प्रस्तुत गरेका छन्।
अध्यक्षका उम्मेदवार पाण्डेले इक्यानलाई गतिशील बनाउने योजना अघि सारेको बताए। उनले भने, ‘इक्यानको व्यवस्थित कार्ययोजना सहित अघि बढेर परामर्श व्यवसायलाई थप मर्यादित बनाउनतर्फ लाग्ने छु। यो व्यवसायमा विदेशी लगानी स्वीकार्य हुँदैन। यस विषयको मुद्दा अदालतमा विचाराधिन छ। व्यसवसायलाई थप मर्यादित बनाउन मेरो भूमिका रहन्छ।’
यस टीमबाट उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठ छन्। यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठी रहेका छन्। कोषाध्यक्षमा विनोदकुमार सुवेदी, सहकोषाध्यक्षमा हरि सिग्देलले उम्मेदवारी दिएका छन्।
कार्यसमिति सदस्यका लागि आशिस रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका हुन्।