नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया सफल

हिमाल प्रेस १९ असार २०८० ९:५८
4
SHARES
नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया सफल

विराटनगर– नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ। अस्पतालको बाल तथा नवजात शिशु सर्जन डा. सञ्जयकुमार शाह नेतृत्वको शल्यचिकित्सा टोलीले २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको हो।

कोशी अस्पतालमा जन्मिएका सुनसरी देवानगन्ज गाउँपालिका–६ का नवजात शिशुलाई सास फेर्न गाह्रो भएपछि नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। एक्सरे गरेर हेर्दा पेटभित्र हुने अंग छातीमा पुगेको देखिएपछि पेट चिरेर शल्यक्रिया गरिएको थियो।

पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेटभित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको अस्पतालले जनाएका छन्। जसका कारण फोक्सो थिचिएर बच्चालाई सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर नीलो हुने समस्या देखिएको थियो।

जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्निया करिब ५ हजार बच्चामध्ये एक जनामा देखिने चिकित्सकहरूको भनाइ छ। चिकित्सकका अनुसार यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र सास फेर्न गाह्रो भई बच्चाको ज्यान जाने जोखिम हुन्छ।

यस्तो शल्यक्रिया गर्ने क्रममा झण्डै ४० प्रतिशत बच्चाको ज्यान जाने भएकाले यो जटिल मानिने चिकित्सकहरू बताउँछन्। शिशुको स्वास्थ्य अवस्था सामान्य बनेपछि अस्पतालले घर पठाइदिएको छ।

प्रकाशित: १९ असार २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast