आँबुखैरेनी अस्पतालमा डायलासिसका बिरामीले पाउन सकेनन् उपचार

हिमाल प्रेस १८ असार २०८० ९:१६
4
SHARES
आँबुखैरेनी अस्पतालमा डायलासिसका बिरामीले पाउन सकेनन् उपचार

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा डायलासिस मेसिन नहुँदा बिरामीले उपचार पाउन सकेका छैनन्।

आँबुखैरेनी गाउँपालिकाले आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रममा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाए पनि मेसिन नहुँदा उक्त कार्यक्रम पूरा नहुने देखिन्छ।

गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहज रूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ।

‘यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ। तैपनि भनेको बेला समय नपाउँदा उनहरूलाई निकै दुःख भइरहेको छ। त्यस्तो अवस्थाका अन्त्यका लागि आगामी आर्थिक वर्ष आँबुखैरेनीमा नै यो सेवा दिनेछौं,’ उनले भने।

उनका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल संख्या ५० जना रहेका छन्। तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिंदै छन्। गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ।

आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने पालिका अध्यक्ष चुमानको भनाइ छ।

‘ठूला शल्यक्रिया गर्नुपरेमा महिना १ पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ। केही शल्यक्रिया भने नियमित रूपमा अस्पतालमै हुनेछ,’ उनले भने।

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ।

महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको अध्यक्ष चुमानले बताए।

गाउँपालिकाका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे।

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस मेसिन सञ्चालनमा छ। मिर्गौला पीडितको संख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ। दमौली अस्पतालमा ११ मेसिन रहेकामा बिग्रिएर हाल ४ वटाले मात्रै सेवा दिइरहेको छ।

मेसिन थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ मेसिन पठाएको छ। प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई मेसिन आइपुगे पनि जडान हुन बाँकी रहेको छ।

४ वटा मेसिन सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।

समस्या समाधान गरिदिन देउवासमक्ष माग

अस्पतालमा डायलासिस मेसिन व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर देउवाको ध्यानाकर्षण गराइएको छ।

गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गरेर यस्तो पहल गरेका हुन्।

सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक मेसिनको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गरे।

अस्पतालका लागि डायलासिस मेसिन व्यवस्थाका लागि देउवाले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई आग्रह गर्ने जानकारी दिएको वडाध्यक्ष केसीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast