उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फिर्ता

हिमाल प्रेस १७ असार २०८० ८:०६
8
SHARES
उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फिर्ता उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग।

काठमाडौँ– चीन भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) स्वदेश फर्किएका छन्।

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फंग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेश घिमिरेलगायतले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए।

भेटवार्ताका क्रममा उनहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटीलगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारे विमर्श भयो।

थप व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत छलफल भयो।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरे।

भ्रमणका क्रममा उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल-चीन सम्बन्धबारे सम्बोधन मन्तव्य दिए।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न पनि आग्रह गरे।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उनले छेन्दु-काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरे।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय संग्रहालयको अवलोकन गरेको थियो।

नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार साँझ छेन्दुस्थित महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए।

उनी सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast