म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान कीभ आइपुगेका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनी शनिबार बिहान युक्रेनको राजधानी कीभ आइपुगेका हुन्। ‘म युरोपेली संघको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु,’ सान्चेजले आफ्नो आधिकारिक ट्विटरमा लेखेका छन्।
उनले सिंगो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन्। ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेनी जनतालाई समर्थन गरिरहनेछौँ,’ बिहीबार ईयू शिखर सम्मेलनको क्रममा भ्रमणको घोषणा गर्दै सान्चेजले भनेका छन्। एक वर्षअघि ईयू सदस्यताको उम्मेदवार बनेको युक्रेनले यस वर्ष सदस्यता प्राप्तिका लागि औपचारिक वार्ता गर्ने तयारी गरेको छ। रासस/एएफपी
प्रकाशित: १६ असार २०८० १९:१८
प्रतिक्रिया