स्याङ्जाको आलमदेवी मन्दिर महिलाका लागि खुला

हिमाल प्रेस १५ असार २०८० ९:४९ | Friday, June 30, 2023
स्याङ्जाको आलमदेवी मन्दिर महिलाका लागि खुला

स्याङ्जा– शाह वंशको कूल मन्दिरका रूपमा परिचित आलमदेवीमा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। हिजोआज भने मन्दिर महिलाका लागि पनि खुला गरिएको छ।

कालीगण्डकी गाउँपालिका-३ स्थित १३५० सालमा स्थापना भएको यो मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ।

यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ। मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो। उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो। तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो।

मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवम् पूजा गर्दै आएका थिए। उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो।

आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला-पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए।

‘हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ,’ उनले भने, ‘ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन्।’

अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन्। यहाँ दशैँको नवमीका दिन डेढ घण्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ। ‘आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ,’ उनले भने।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताउनुभयो। ‘पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ,’ उनले भने, ‘गुठी संस्थानको ८४ हजार रुपैयाँ बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ।’

आलमदेवी मन्दिरमा ३ सय ६५ दिन नै पूजा हुने गरेको छ। यहाँ एकादशी, औंसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ।

प्रकाशित: १५ असार २०८० ९:४९ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast