काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन्। बिहीशार इलाममा आफूलाई कालोझण्डा देखाएपछि प्रतिक्रियाँ दिँदै भट्टराईल उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको टिप्पणी गरे।
‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन। एमाले वार्ता र संवादका लागि हरबखत तयार छ।’
मदन भण्डारी फाउण्डेसन ईलामले ७२औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रियामा जाँदै गर्दा ईलाम बाजारमा भट्टराईलाई कालो झण्डा देखाइएको थियो। आफूलाई कालोझण्डा देखाए पनि सानदार रूपले कार्यक्रम सम्पन्न भएको भट्टराईको प्रतिक्रिया छ।
‘नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रूपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तव्य राखेको उक्त कार्यक्रममा सहभागितामुलक छलफल पनि भएको थियो,’ भट्टराईले भनेका छन्।
उनले आफूहरूले फरक विचार र मतलाई सम्मान गर्ने पनि उनले बताए। ‘आज मलाई कालो झण्डा देखाउनेहरूको अधिकारका लागि म स्वयम् र मजस्ता लाखौँले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरूले गर्नुभएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ,’ भट्टराईले भनेका छन्।