शिव शिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर

हिमाल प्रेस १३ असार २०८० १५:५८ | Wednesday, June 28, 2023
शिव शिखर सहकारीका निवर्तमान अध्यक्ष शर्माले साढे ११ अर्ब हिनामिना गरेको ठहर

काठमाडाैँ- शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बचतकर्ताकाे साढे ११ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले ठहर गरेकाे छ।

मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष र शिखर अर्गनाईजेसनका सञ्चालकसमेत रहेका शर्माले विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेकाे उक्त रकम हिनामिना गरेकाे ठहर सीआईबीले गरेकाे हाे।

सहकारीमा जम्मा गरेकाे रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शर्मालाई सीआईबीले पक्राउ गरेकाे छ। उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी बुधबार सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढाएकाे जानकारी सीआईबीले दिएकाे छ।

सहकारीमा जम्मा गरेकाे रकम हिनामिना गरेकाे आराेपमा सीआईबीले उनीसहितको समूहमाथि छानबिन अघि बढाएकाे छ।

भक्तपुरकाे काैशलटारमा मुख्य कार्यालय रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न ३५ जिल्लामा सेवा केन्द्र तथा सहकारी शाखा कार्यालय राखी १ लाख ६८ हजार ७ सय २५ निक्षेपकर्ता सदस्य बनाएकाे छ। सदस्यहरूले जम्मा गरेकाे १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ हिनामिना गरेको आरोप शर्माकाे समूहमाथि छ।

त्यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १ सय ५४ निक्षेपकर्ता सदस्यले जम्मा गरेकाे १ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ।

उक्त रकमको साँवाब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: १३ असार २०८० १५:५८ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast