बुबाले आत्महत्या र आमाले अर्कैसँग बिहे गरेपछि आशिष र अंकुको बिचल्ली

हिमाल प्रेस ४ असार २०८० २१:१५
8
SHARES
बुबाले आत्महत्या र आमाले अर्कैसँग बिहे गरेपछि आशिष र अंकुको बिचल्ली ट्र्याक्टर पछयाउँदै केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका बुबाआमा विहीन ११ वर्षीय बालक आशिष विश्वकर्मा। तस्वीर : केदार मगर/रासस

खोटाङ- केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँ पुगेर ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहन्छन्। गाउँमा हुने विकासे कामका लागि ढुंगा तथा बालुवा,गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा ८ वर्षीया बहिनी अंकुमात्रै छन्।

आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजुबहिनी आशिष र अंकु यतिबेला बिचल्लीमा छन्। बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अंकुको लालनपालन र शिक्षादीक्षा रोकिएको छ।

आमाले छाडेर अर्कैसँगै बिहे गरेको केही दिनपछि बुबा दीपेश विश्वकर्माले गत चैतमा आत्महत्या गरेका स्थानीयले बताएका छन्। आशिष र अंकु चन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थी हुन्।

बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका उनीहरूले नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले बताएको छ। बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीयको भनाइ छ।

दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका बेला उनकी श्रीमतीले दोस्रो विवाह गरेकी हुन्। दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजुबहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। ‘वडामा सीमित बजेट हुन्छ। वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन।’

बुबाआमा दुवै भएका बालबालिकाका लागि समेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या रहेको उनको भनाइ थियो। उनीहरू (आशिष र अंकु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको वडाध्यक्षको भनाइ छ। यद्यपि स्थानीयको सबैभन्दा नजिकको सरकार वडा नै हो।

ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अंकु अहिले अरुले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन्। अरूको भरमा जीवन धान्दै आएका उनीहरू कुनै कुनै बेला भोकै रहने गरेका छन्। रासस

प्रकाशित: ४ असार २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast