मिटरबक्सबाट सल्किएको आगोले घर खरानी

हिमाल प्रेस ३ असार २०८० २१:५३
6
SHARES
मिटरबक्सबाट सल्किएको आगोले घर खरानी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको जलेर नष्ट भएको घर। विद्युत 'सर्ट'का कारण आगलागी भएको प्रहरीले अनुमान गरेको छ। तस्बिर : केदार मगर/रासस

खोटाङ- विद्युत् मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर जलेर खरानी भएको छ।

घरमा वृद्धावस्थाकी मानबहादुरकी श्रीमती मात्रै रहेको समयमा आइतबार दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीनतले घर जलेर नष्ट भएको हो। साथै नगद ५० हजार रुपैयाँ, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपातलगायत धनमाल पूर्ण रूपमा जलेको छ।

ढुंगा र माटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा ३२ लाखभन्दा बढीको धनमाल पूर्ण रूपमा जलेको प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिए।

मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति नभएको प्रहरीकोभनाइ छ। मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए। ‘दिउँसो करिब दुई बजेको समयमा मिटरबक्सबाट आगो लाग्न सुरु भएको रहेछ। छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो,’ उनले भने।

दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण नभएकाले साँझमात्रै नियन्त्रण गर्न सकिएको उनले बताए। दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब ५ घण्टापछि मात्र नियन्त्रणमा लिइएको स्थानीय हर्कराज राईले जानकारी दिए।

घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार लिएर घटनास्थल पुगेका थिए। म्गर दम्पति दुई जनामात्रै बस्दै आएको घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन्।

घटनास्थलमै पुगेर राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए। तत्कालका लागि व्यवस्थापन तथा संयोजन गर्न वडा कार्यालयलाई भनिएको उनको भनाइ थियो। रासस

प्रकाशित: ३ असार २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast