गोरखामा तामे सालक भेटियो

हिमाल प्रेस १ असार २०८० १५:१५ | Friday, June 16, 2023
गोरखामा तामे सालक भेटियो तस्बिर स्रोतः तुलसीलक्ष्मी सुवाल (सालक संरक्षण कार्ययोजना)

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ। स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए।

फेला परेकोे उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उनले बताए। “आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने। सालकको आहारा कमिला, धमिरा लगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ।

यसको अवैध सिकारसमेत हुने गरेको छ। सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको पाइन्छ। यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत गोेपालीले जानकारी दिए।

उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिएको उनले बताए। विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने वन अधिकृत गोेपालीले भनाइ छ।

प्रकाशित: १ असार २०८० १५:१५ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast