उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल
काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन्।
उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे। त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोण पनि बजेटमा नभएको उनको भनाइ छ। पौडेलले बजेट हावादारी भएको आरोप लगाए। पौडेलले भने, ‘बजेटले अर्थतन्त्रका समस्या चिनेको छैन। समस्या समाधानका विकल्प र दृष्टिकोण दिन सकेको पनि छैन। स्रोतको प्रस्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन।’
उनले बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेमा स्वयं अर्थमन्त्री र सरकारलाई चिन्ता नरहेको टिप्पणी उनको छ। उनले भने, ‘यो कार्यान्वयन हुने बजेट होइन। चुनौतीको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ।’





