मनाङलाई भाग्य र पुलिसलाई विदेशी खेलाडीको साथ

हिमाल प्रेस १८ जेठ २०८० २३:०३
68
SHARES
मनाङलाई भाग्य र पुलिसलाई विदेशी खेलाडीको साथ

काठमाडौँ- फुटबल खेलमा एउटा टिम कतिसम्म अभागी हुनसक्छ? एफसी खुमलटारलाई सोधे हुन्छ। सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार खुमलटारको विपक्षी थियो, मनाङ मर्स्याङ्दी क्लब। खुमलटारले दोस्रो हाफमा पेनाल्टी पायो। पेनाल्टीमा मिडफिल्डर एलन थापा चुके। उनको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले ब्लक गरे।

पेनाल्टी खेर फालेको १० मिनेटपछि खुमलटार आक्रमणमा थियो। राजीव लोप्चनको प्रहार मनाङको गोलपोस्टमा लागेर बाहिरियो। खुमलटार ७६ औँ मिनेटमा फेरि एकटक अभागी साबित भयो। खुमलटारका विशाल बस्नेतले रक्षापंक्तिबाटै राजीवका लागि लामो पास निकालेका थिए। जसलाई मनाङका चेतन कुमार थारुले ब्लक गर्न खोजे, सकेनन्। त्यसपछि आशिष गुरुङले क्लियर गर्ने प्रयास गरे। तर उनको प्रहार आफ्नै पोस्टमा लाग्यो। रिबाउन्डमा आएको बल मनाङका गोलरक्षक दीप कार्कीले समाते।

पटक पटक भाग्यले साथ नदिएको खुमलटार ९० मिनेट कटेपछि गोल खान पुग्याे। अभागी खुमलटारको पीडा बढाउन मनाङले खेलेको तीन पास पर्याप्त रहे। गोलको मुभ गोलरक्षक दीपबाट सुरु भएको थियो। उनले रिलिज गरेको बल खुमलटारका मिडफिल्डर जय गुरुङले हेड गरे। त्यसपछि बल मनाङका प्रवेश कुवँरले पाए। प्रवेशले रन्दिपलाई पास दिए। रन्दिपले रोशन राना मगरलाई। रोशनले खुमलटारको पोस्टको बाँयातिर गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

‘प्रदर्शनको आधारमा भन्ने हो भने, आज हामी जितको हकदार हामी थिएनौँ। हुन त हामी जितको लक्ष्य लिएरै मैदान ओर्लिएको हो। तर प्रदर्शन लक्ष्य अनुरुपको भएन। मानसिक रुपमा हामी कमजोर देखियौँ। अन्तिममा खुमलटारले हामीलाई जित उपहार दिएको जस्तो भयो,’ मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङले भने।

दशरथ रंगशालामा यो जित हासिल गरेपछि मनाङ पाँचौँ स्थानमा उक्लिएको छ। २३ खेलबाट ३१ अंक बटुलेको मनाङ अब रेलिगेसन क्षेत्रबाट ६ अंकले माथि छ। यति अंकले रेलिगेसनको भय नटर्ने विष्णुको स्वीकारोक्ति छ। ‘हामी ७५ प्रतिशत सुरक्षित भएका छौँ,’ मनाङलाई नौ खेलमा दोस्रो जित दिलाएका विष्णुको भनाइ थियो।

एक मात्र विदेशी खेलाडी मैदान उतारेको मनाङमाथि खुमलटार खेलभरि नै हाबी भयो। दुवै हाफमा उत्तिकै गोलका अवसर सिर्जना गरेको खुमलटारले सजिलै खेल जित्ने अवसर गुमाएको विष्णुले बताए। ‘पाएको मौकामा गोल गर्न सकेको भए खुमलटार पहिलो हाफमै दुई-तीन गोलले अघि हुने थियो,’ विष्णुले भने, ‘हामीले कहिलेकाहिँ भगवानलाई पनि विश्वास गर्नुपर्छ। आज हामीलाई भगवानले साथ दिए भनौँ।’

मनाङले भारतीय फरवार्ड याश टुकाराम मात्रेलाई मैदान उतारे पनि शहिद अजिज र डियान्डौ नियाङ डियाग्ने श्रम स्वीकृति नभएका कारण खेल्न पाएनन्। तीन महिने श्रम स्वीकृतिको अवधि सकिएकाले उनीहरु दर्शकदिर्घामा बस्न बाध्य भए। कोफी टिमोथी कौडो चाहिँ गत खेलमा रातो कार्ड पाएका कारण प्रतिबन्धमा छन्। सयिदजामोल डाब्लाट्जोनोभ बेन्चमा रहे पनि विष्णुले उनलाई खेलाएनन्।

उता खुमलटार पनि आफ्ना दुई विदेशी स्टार मेसुके ओलोमौउ र स्टिफन समिर बिनोङबिनै खेल्यो। उनीहरुको पनि श्रम स्वीकृति अवधि सकिएको खुमलटारका व्यवस्थापक अन्जन राना क्षेत्रीले जानकारी दिए। अभागबाहेक विदेशी खेलाडीको अनुपस्थितिलाई हारको कारण मानेका अन्जनले अखिल नेपाल फुटबल संघ एन्फाले समयैमा श्रम स्वीकृतिको प्रक्रिया समयै नचालेको आरोप पनि लगाए।

‘श्रम स्वीकृतिको प्रक्रियाका लागि हामीले गत साता नै एन्फालाई पत्र पठाएका थियौँ। तर यहाँ विडम्बना के छ भने श्रम स्वीकृतिको काम एक जना मान्छेमार्फत मात्र भइरहेको छ। एन्फा पनि उसकै भरमा छ। विदेशी खेलाडीको श्रम स्वीकृति र भिसा प्रक्रियाका लागि एक जना मान्छेको भर पर्ने हो भने त सधैँ आजकै हालत हुन्छ,’ अन्जनले भने, ‘विदेशी खेलाडीले खेल्न नपाउँदा क्लब कति अप्ठ्यारो पर्छन्, खेलमा कति असर पुग्छ भन्ने कुरा त एन्फाले बुझ्नुपर्ने हो।’ अन्जनको संकेत सगुन तण्डुकारतिर थियो। नेपाल आइपुग्ने अधिकांश अफ्रिकी खेलाडी उनीमार्फत नै क्लबहरुसँग जोडिने गरेका छन्।

पराजयपछि खुमलटार २४ अंकका साथ पुछारमै यथावत् छ। रेलिगेसनबाट बच्न खुमलटारले अबका तीन खेल जित्नै पर्नेछ। खुमलटारले संकटा क्लब, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडको सामना गर्न बाँकी छ। ‘आज हामीले जित्नै पर्ने थियो। त्यसरी नै खेलेको पनि हो। तर भाग्यले साथ दिएन। पेनाल्टी खेर गयो। केही प्रहार पोस्टमा ठोक्किए। हामी दबाबमा छौँ। अब हामीले आगामी तीन खेल जित्नै पर्नेछ,’ अन्जनले भने।

बिहीबार च्यासल रंगशालामा फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबले पनि नेपाली खेलाडी मात्र खेलाए। यी दुई क्लबबाट खेल्ने विदेशी खेलाडीको पनि श्रम स्वीकृतिको अवधि सकिएको छ। गोलरहित बराबरीमा सकिएको यो खेलमा फ्रेन्ड्सले आफ्ना उच्च गोलकर्ता रफिक अमिनु, मिडफिल्डर टोरिक जेब्रिन, रक्षक अख्रोबेक उक्तामोभ लगायतलाई खेलाउन पाएन। हिमालयन शेर्पा पनि अबायोमी फाकुन्ले, मुटाम्बा पिस्टोने, म्यानुएल नाना आग्येमाङ आदिबिना मैदान ओर्लिएको थियो।

उता दशरथ रंगशालामै बिहीबार दिउँसो नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) लाई १-० ले हराउँदा विदेशी खेलाडी मोेसेस टुम निर्णायक साबित भए। उनले ७६ औँ मिनेटमा गरेको गोलका कारण पुलिसले लगातार चौथो जित दर्ता गर्‍यो। पुलिसले आफ्ना सबै विदेशी खेलाडी उपयोग गरेको थियो।

एनआरटी पनि विदेशी खेलाडीविहीन थिएन। इन्जुरी समयमा भने एनआरटी १० खेलाडीमा सीमित भयो। पुलिसका हेमन्त श्रेष्ठसँग भनाभन गरेका कप्तान विक्रम धिमालले इन्जुरी समयमा पहेलो कार्ड पाए। हेमन्तलाई पनि पहेलो कार्ड देखाइएको थियो। पहेलो कार्ड पाएपछि पनि आक्रोशित हुन नछाडेका विक्रमले अन्ततः दोस्रो पहेलो र रातो कार्ड खाए र मैदान छाड्न बाध्य भए।

पछिल्ला दुई खेलमा जित हासिल गरेको एनआरटी पुलिससँगको हारका कारण नवौँ स्थानमा झरेको छ। २३ औँ चरण सकिँदा एनआरटीको खातामा २९ अंक छ। जुन आठौँ स्थानको सातदोबाटो युथ क्लब र १० औँ स्थानको एपीएफसँग बराबर हो। हिमालयन शेर्पा, मनाङ र संकटासँग भिड्न बाँकी एनआरटी रेलिगेसनको त्रासबाट मुक्त छैन।

यसअघि पाँचौँ चरणमा एनआरटीसँग १-१ को बराबरी खेलेर पहिलो अंक बटुलेको पुलिसले भने चौथो स्थानमाथिको पकड बलियो बनाएको छ। पुलिस अब पाँचौँ स्थानको मनाङभन्दा तीन अंकले माथि र तेस्रो स्थानको जावलाखेलभन्दा तीनै अंकले तल छ।

पुलिसले आगामी तीन खेलमा दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटोको सामना गर्नेछ। यी तीनै खेल जिते पुलिस शीर्ष तीनमा रही लिग समापन गर्ने स्थितिमा पुग्नसक्छ। उसो त पुलिसले लिग सुरु हुनुअघि नै विदेशी खेलाडी ल्याएको भए उपाधि दाबेदार हुने थियो भन्नेको संख्या कम छैन।

पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरे भने अहिलेको स्थानप्रति बेखुस छैनन्। ‘विदेशी खेलाडी पहिल्यै ल्याउन पाएको भए अवश्य पनि राम्रो हुने थियो। तर फुटबल सामूहिक खेल हो। यसकारण टिममा भूमिका सबैको हुन्छ। हो, विदेशी खेलाडीका कारण बाँकी खेलाडीको मनोबल र आत्मविश्वास चाहिँ बढेको छ,’ लिगमा यही सिजन प्रशिक्षकका रुपमा डेब्यु गरेका चेतनले भने, ‘हामी अहिले जहाँ छौँ, यसमा म खुसी छु। सबै खेलाडीले मेहनत गरेका छन्। सबैजना धन्यवादका पात्र हुन्।’

प्रकाशित: १८ जेठ २०८० २३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =