बजेटबारे प्रधानाध्यापकसँग रायसुझाव संकलन

हिमाल प्रेस १६ जेठ २०८० १७:३३
568
SHARES
बजेटबारे प्रधानाध्यापकसँग रायसुझाव संकलन

काठमाडौँ- भक्तपुर नगरपालिकाको आव २०८०/८१ को बजेट तर्जुमासम्बन्धी रायसुझाव संकलनका क्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भेला सम्पन्न भएको छ।

भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सामुदायिक विद्यालयका शिक्षकलाई आवश्यक तालिम, विद्यालयको आवश्यकताका आधारमा भौतिक सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुका साथै विद्यालय तथा कलेजमा अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै २१ औँ शताब्दीका योग्य नागरिक तयार गर्नेतर्फ जोड दिँदै आएको बताए।

सरकारले सांसद विकास कोषको नाममा सांसदलाई बजेट बाँड्दै विकासे कार्यकर्ता बनाउन खोजिएको आरोप लगाए। जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिए जनताको आधा समस्या समाधान हुने उनको भनाइ छ।

भक्तपुरको शिक्षा अहिले देशकै नमुना बनिरहेको सन्दर्भ जोड्दै उनले भक्तपुरका शिक्षकले अरुको तुलनामा राम्रोसँग काम गरिरहेको बताए।

भक्तपुर नपा-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले बजेट निर्माणका क्रममा १० वटै वडा कार्यालयबाट सुझाव संकलन कार्य चालु रहेको बताउँदै भक्तपुरको सामुदायिक विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि सबैतिरबाट आएको सुझाव नगरपालिकाको साझा नीतिका रुपमा अगाडि बढाइने बताए।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुले आव २०८०/८१ को बजेटमा प्रधानाध्यापक भेलालाई निरन्तरता दिई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने, स्वयंसेवक शिक्षकको व्यवस्था गर्नुपर्ने, शिक्षक दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यालयमा आवश्यकताअनुसार भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, विज्ञान र गणित विषयको प्रयोगशाला स्थापना, स्थानीय पाठ्यक्रमका विषयगत शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने, सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक भेदको अन्त्य गरिनुपर्ने, विद्यालयको भौतिक पूर्वाधारको अनुगमन, शिक्षकलाई प्रोत्साहन गर्नुपर्नेलगायतका सुझाव राखेका थिए।

प्रकाशित: १६ जेठ २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast