काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

हिमाल प्रेस १३ जेठ २०८० १९:१८
4
SHARES
काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी गरेको छ। प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको छ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको उनको भनाइ छ। प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगत रूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको बताइएको छ। हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ। यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ। काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने बताएको छ।

यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ। रासस

प्रकाशित: १३ जेठ २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast