अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की

हिमाल प्रेस ६ जेठ २०८० १७:१२ | Saturday, May 20, 2023
अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की

काठमाडौँ- शनिबार बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठबीच चर्काचर्की भएको छ। सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्न आग्रह गरेपछि दुई जनाबीच भनाभन भएको हो।

समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो ‘बेवकुफ’ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुराभन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरे। सोही विषयलाई लिएर दुई जनाबीच भनाभन परेकाे हाे।

सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए। मन्त्री महतले आफूले यस्ता विषय बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको बताए।

श्रेष्ठले वित्तीय संस्थालाई नियमन कसरी गर्ने? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि मन्त्री महतले पुनः आफूले यसबारे बुझिसकेको प्रतिक्रिया दिए। साथै मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे।

साथै सांसद श्रेष्ठले मन्त्री महतले लामो जवाफ दिइरहेकाले सांसदहरूले प्रश्न गर्न नभ्याएको बताए। लगत्तै सांसद श्रेष्ठले लाखौँ रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन्? भनेर प्रश्न गरे।

सांसद श्रेष्ठले महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने? भनेर पनि प्रश्न गरे। साथै हतार भयो भनेर नहुने भन्दै सांसद श्रेष्ठले हतार भए बैठक नै राख्नुनहुने बताए। उनले मन्त्री महतलाई हतार भए जानुहोस्, भन्दै असहमति व्यक्त गरे।

सांसद श्रेष्ठको जवाफपछि मन्त्री महतले आफूले यसबारे धेरै पटक सुनिसकेको र जिज्ञासामात्रै राख्न आग्रह गरे। यसको जवाफमा सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ? भन्दै फेरि प्रश्न गरे।

मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभनकाे स‌ंवाद :

श्रेष्ठ : पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो, त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई। त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आकलन हुँदैन। उदाहरणका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हेरे पुग्छ। हाम्रा योजना मनगढन्ते हुन्छन्। एक पटक भ्युटावरको कल्चर आएको थियो। डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ हो? डाँडा आफैँ भ्युटावर हो नि त। व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ। १३ करोडको धनियाँ आयात गर्छौँ धनियाँमा आत्मनिर्भर बनौँ न।

अर्थमन्त्री : भ्युटावरको कुरा मैले संसद्‌देखि सुनेको सुन्यै छु, यो कुरा ग्रहण गरिसकेँ।

श्रेष्ठ : निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन। वित्तीय संस्थालाई नियमन कसरी गर्ने? हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ। सहकारी बेसलाइन अर्थतन्त्र हो यो।

मन्त्री : बुझेँ बुझेँ।

श्रेष्ठ : मन्त्रीज्यु हतार नगर्नुस् न। जवाफ नै लामो दिइराख्नुभएको छ तपाईले। प्रश्न सोध्दा तपाईलाई ध्यानाकर्षण त गराउनुपर्छ नि। लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन। अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन्? यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने? तपाईलाई हतार भयो भनेर हुन्छ? कि बैठक नै राख्नुभएन। सभापतिज्यु यस्तो हो भने बैठक नै नराखिदिनुहोस्। उहाँलाई हतार छ ठिक छ जानुहोस्।

मन्त्री : तपाईहरूले पटकपटक यी कुराहरू राख्नुभएको छ, जिज्ञासामात्रै राख्नुस् न। मैले ग्रहण गरेको छु, व्याख्यात्मकभन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु।

श्रेष्ठ : बुझेको भए संकट किन छ?

मन्त्री : संकट मैले गर्दा आएको होइन। संकट आजको आजै समाधान हुन्छ र? त्यसका लागि म इमान्दार प्रयास गर्छु।

श्रेष्ठ : आजको बैठकको औचित्य के?

मन्त्री : सभापतिज्यूले बोलाएर म आएको हो नि।

श्रेष्ठ : तपाईँ त समितिप्रति जवाफदेही हुनुहुन्छ नि। हाम्रो औपचारिक प्रणालीबाट खर्बौं रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस्। त्यसले पनि असर गरेको छ।

प्रकाशित: ६ जेठ २०८० १७:१२ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast