स्कुलमा चुनावी अभ्यास, मतदानबाट छानिए मनिटर

हिमाल प्रेस ६ जेठ २०८० १२:५१
6
SHARES
स्कुलमा चुनावी अभ्यास, मतदानबाट छानिए मनिटर

भक्तपुर- भक्तपुरको एउटा स्कुलमा शुक्रबार मिनी चुनाव भएको छ। जिल्लाको एभरेस्ट इङ्लिस स्कुल मिवाछें व्यासीमा छात्रछात्राले मतदान प्रक्रियाबाट आफ्ना नेता (मनिटर) छानेका हुन्। मतदानअघि उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो।

उम्मेदवार विद्यार्थीलाई कक्षाकोठा तथा दैनिक बिहानको एसेम्बलीमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका थिए। निर्वाचन चिह्न प्रदान गरिएपछि नियमित प्रक्रियाअनुसार गोप्य मतदान गराइएको थियो।

क्याप्टेनका लागि कक्षा १० का पाँच छात्रा र सब–क्याप्टेनका लागि चार छात्र प्रतिस्पर्धामा थिए। विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन निर्वाचन गराइएको स्कुलले जनाएको छ।

मतदानमा कक्षा ६ देखि १० सम्मका ६ सयभन्दा बढी विद्यार्थी सहभागी भए। स्कुल परिसरभित्रै रहेको एउटा मतदान केन्द्रको तीनवटा बुथमा मतदान गरिएको थियो।

मतदान सकेपछि भएको मतगणणामा एक जना क्याप्टेन र अर्काे सबक्याप्टेन गरेर दुई जना विद्यार्थी निर्वाचित भए। ‘हुन त कक्षैपिच्छे क्याप्टेन र सबक्याप्नेट छन्’, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, ‘अब विजयी भएका क्याप्टन भने स्कुलकै क्याप्टेन र सब–क्याप्टेन हुन्।’

दुवै जना स्कुलको विद्यार्थी नेताको भूमिकामा रहनेछन्। उनीहरूलाई स्कुलले गर्ने हरेक कार्यक्रममा विद्यार्थी परिचालन गर्ने जिम्मेवारी दिइनेछ। भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरभित्र झण्डै एक सय हाराहारीमा रहेका स्कुलमा विद्यार्थी नेता छान्ने प्रक्रिया सुरु भएको जानकारी दिए।

प्रकाशित: ६ जेठ २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast