मौद्रिक नीतिको समीक्षामार्फत गरिएका व्यवस्था सकारात्मक : परिसंघ

हिमाल प्रेस ३० वैशाख २०८० २०:०८ | Saturday, May 13, 2023
मौद्रिक नीतिको समीक्षामार्फत गरिएका व्यवस्था सकारात्मक : परिसंघ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेका व्यवस्थाको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ। राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९/८०कौ तेस्रो त्रैमासिक समीक्षा गरेको थियो।

सो मार्फत आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन केही लचिलो हुन खोजेको देखिएको भन्दै परिसंघले उक्त कार्य सकारात्मक रहेको बताएको हो। ‘राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्दीमा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्ने दिशातर्फ राष्ट्र बैंकले आगामी कदम चाल्ने संकेतका रूपमा लिइएको परिसंघले बताएको छ। ८.५ प्रतिशत रहेको बैंक दरलाई १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरिएकाले त्यसबाट ब्याजदर घटेर बजारमा माग बढाउन केही सहयोग पुर्‍याउने अपेक्षा परिसंघले गरेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका ऋणपत्रहरूलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप)का रूपमा समेत गणना गर्न पाउने व्यवस्था आगामी पुस मसान्तसम्मका लागि निरन्तरता दिइनु पनि सकारात्मक रहेको परिसंघले उल्लेख गरेको छ।

पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने घोषणाले ऋणीहरूलाई केही सहजता प्रदान गर्नेे विश्वास परिसंघले लिएको छ।

प्रकाशित: ३० वैशाख २०८० २०:०८ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast