भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्मै गर्नुपर्छ : मन्त्री लिम्बु

हिमाल प्रेस ३० वैशाख २०८० १९:४३ | Saturday, May 13, 2023
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्मै गर्नुपर्छ : मन्त्री लिम्बु

इटहरी- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका छन्। इटहरीस्थित नेपाली कांग्रेसका नेता विकास केसीको घरमा कार्यकर्तासँग शनिबारको भेटमा भुटानी शरणार्थी प्रकरणमा सबै कुरा बाहिर आउनुपर्ने र अनुसन्धान अझै जरासम्म पुग्नुपर्ने बताएका हुन्।

उक्त प्रकरणमा दोषी देखिएका जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका उनी मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्।

मन्त्री भएपछि गृहजिल्ला मोरङ पुगेका उनले सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटका क्रममा अहिले देशमा भ्रष्टाचारको कुरा उठिरहँदा सबै कार्यकर्ताले अनुसन्धान प्रभावित नर्पान र अनुसन्धानमा सहयोग गर्नु आग्रह गरे। ‘यो प्रकरणमा मेरो पार्टीको पर्‍यो, हाम्रो मान्छे पर्‍यो, भन्ने हेर्नु हुँदैन,’ उनले भने, ‘अनुसन्धानमा हामीले सहयोग गर्नुपर्छ। सबै कुरा बाहिर आउनुपर्छ र अनुसन्धान अझै जरासम्म जानुपर्छ।’

सरकारले अनुसन्धानको पाटोमा काम गरिरहेको र थप अनुसन्धान हुने उनको भनाइ छ। ‘कसुर प्रमाणित भयो भने कानुनको दायरमा जो कोही पनि आउनुपर्छ,’ उनले भने।

उनले आफू भर्खरै खेलकुद मन्त्री भएको र युवाहरूलाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्नका निम्ति काम गर्ने बताए। ‘हामीले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘रोजगारीको सिजनासँगै युवाहरूलाई खेलकुद क्षेत्रमा स्थापित गर्नका निम्ति मेरो भूमिका रहन्छ।’

कांग्रेस इटहरीका युवा नेता विकास केसीले सुनसरी र मोरङमा रहेका खेलकुद संघसंस्था र खेलाडीको विकासका निम्ति काम गर्नका निम्ति माग गरे। नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका केसीले भने, ‘खेलकुद बुझेको मान्छे खेलमन्त्री हुँदा हामी खुसी छौँ, अब युवाहरूले चाहेको खेल क्षेत्रको विकास गर्नका निम्ति हामी सबैको एकै स्वर रहेको छ।’

प्रकाशित: ३० वैशाख २०८० १९:४३ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast