काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका अधिकांस आरोपीहरू दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलसाले मंगलबार यस मुद्दामा प्रतिवादी बनाइएका पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीलगायत कसुरदार हुने फैसला सुनाएको हो।
यो प्रकरणमा ३० भन्दा बढीलाई अभियुक्त बनाउँदै अदालतमा ठगी, लिखत किर्ते र राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।
सजाय निर्धारण भने अर्को पेसीमा तोकिने इजलासको आदेशमा भनिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको खुलेपछि गजेन्द्र बुढाथोकी, दाफुरी शेर्पासमेतको जाहेरीले नेपाल सरकारले २०८० जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेपा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतमाथि मुद्दा दर्ता भएको थियो।
यही प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता रायमाझी पुर्पक्षका लागि हिरासतमा छन्।
त्यस्तै भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, विचौलिया भनिएका बेचन झा, केशव दुलाल, दीपा हुमागाईँ, सन्देश शर्मा, टंककुमार गुरुङलगायतमाथि पनि मुद्दा चलेको थियो।
अदालतले यो प्रकरणमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), प्रतीक थापा (रामबहादुर थापाका छोरा), रामशरण गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको छ।




