एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी नेताहरू।
काठमाडौँ- नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ। पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरूसहितको ८ वटा समूहले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिएका थिए। सोही सुझावका आधारमा शनिबार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले जानकारी दिए।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका थिए। सोही मार्गदर्शनमा आधारित भएर सबै समूहले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन्।
उपप्रमुख रिजालले भने, ‘हामीले ८ वटा समूहमा विभाजन गरेर, ती रिपोर्टहरूमाथि आधारित भएर आआफ्नो प्रदेशका केकस्ता कार्ययोजना हुन सक्छन्? वार्षिक कार्ययोजनाबारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्न हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेसागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौँ।’ त्यसमा घनीभूत ढंगले छलफल भइरहेको रिजालले बताए।
महासचिव पोखरेलले मोटामोटी मार्गदर्शन प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यहरूलाई केही प्रश्न पनि सोधका थिए। ती प्रश्नमा समेत आधारित भएर आआफ्नो प्रदेशका विशेषताका आधारमा पार्टीका योजना निर्माणका लागि सुझाव प्राप्त हुने रिजालले बताए।
उनले भने, ‘ती सबै सुझावलाई ध्यानमा राखेर ८ वटै टोलीका तर्फबाट सुझाव प्रस्तुत भएपछि शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्नेछ। त्यसमा प्राप्त सुझावसमेत विश्लेषण गर्दै पार्टीको केन्द्रीय नेतृत्वले सोचेका योजनाहरूमा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ।’
शनिबार नै बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि २०८० चैतसम्म नेकपा एमालेले देशभरि केकस्ता कार्यक्रम गर्छ, प्रवास तथा जनसंगठनहरूमा समेत के कस्ता कार्यक्रम गर्छ भन्ने खाका तयार हुनेछ।
रिजालले भने, ‘त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय, एउटै ताल र एउटै बुझाइका साथ सिंगो केन्द्रीय कमिटी परिचालित हुनेछ।’ नेकपा एमालेलाई जनताको रोजाइको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिका रूपमा रुपान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर पार्टी परिचालनलाई विशेष जोड दिने रिजालले जानकारी दिए।
बिहीबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरू तथा प्रदेश कमिटीहरूले प्र्रस्तुत गरेको मिसन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो। शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने बताइएको छ।




