आन्तरिक राजनीतिमा बाह्य चलखेल बढेको एमाले ठहर

हिमाल प्रेस २८ वैशाख २०८० १९:३२
14
SHARES
आन्तरिक राजनीतिमा बाह्य चलखेल बढेको एमाले ठहर

काठमाडौँ- नेकपा एमालेले मुलुकको आन्तरिक राजनीतिमा बाह्य चासो र चलखेल अत्यधिक बढेको ठहर गरेको छ। पार्टीको बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘राजनीतिक दलहरूबीच कस्तो गठबन्धन बन्ने या भत्कने, राज्यका मुख्य अंगहरूमा कसलाई निर्वाचित गर्ने या रोक्ने, मुलुकमा कस्ता कानुन बन्ने या बन्नबाट रोक्नेजस्ता प्रश्नमा समेत अनुचित चासो र हस्तक्षेप प्रकट हुन थालेको छ।’

नेपालले कुन मित्रराष्ट्रसँग कस्तो आर्थिक सम्बन्ध कायम गर्ने र कस्ता आथिक या विकास साझेदारी गर्नेजस्ता प्रश्नमा समेत बाह्य शक्तिले परोक्ष दबाब दिइरहेको एमालेको निष्कर्ष छ।

यस्तै अमेरिकी सहायता परियोजना (एमसीसी) गिजोल्नसम्म गिजोलिएको र १२ बुँदे घोषणाको आवरणमा त्यसलाई नाटकीय रूपमा पारित गरेको प्रतिवेदनमा उल्लेख छ।

बैठकमा ओलीले प्रतिवेदन पेस गर्दै भने, ‘नाटकीय रूपमा पारित गरेका नेताहरूले आजसम्म नेपाली जनतालाई स्पष्ट पारेका छैनन्। त्यस घोषणाको कानुनी र नैतिक हैसियत आज के छ?’

नेपाललाई सैन्य गठबन्धन प्रकृतिको राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा धकेल्नका लागि भएको प्रयास संसद् र जनस्तरबाट सशक्त प्रतिवाद भएपछि सरकार पछि हटे पनि नेपाललाई निजानिँदो गरी निश्चित शक्ति राष्ट्रहरूको पोल्टामा ढल्काउने प्रयास भित्री रूपमा जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो समय छिमेक सम्बन्धमा असन्तुलन भइरहेको र छिमेकको नजरमा राष्ट्रको विश्वास र साखलाई पनि खस्काउने काम भइरहेको एमालेको दाबी छ।
‘एकातिर मित्रराष्ट्र भारतसँग इतिहासदेखि थाती रहेका सीमालगायतका विषयहरू नेपालको हितमा सल्ट्याएर विश्वासमा आधारित र समस्यारहित सम्बन्ध निर्माणमा कुनै पलल गरिएको छैन’, प्रतिवदेनमा उल्लेख छ।

यस्तै चीनसँग सहमति भइसकेका कैयौँ परियोजनालाई बेवास्ता गर्ने काम भइरहेको टिप्पणी प्रतिवेदनमा गरिएको छ।

डेमोक्रेसी समिटमा सहभागिता, बोआओ फोरमलाई उपेक्षा, युक्रेन मामिलामा सरकारका क्रियाकलाप, निम्ताबिना नै भारत भ्रमणको एकोहोरो रटान, नेपालको प्राथमिकता र सरोकार नरहेका विषयसँग सम्बन्धित विदेशी अधिकारहिरूको तारन्तारका भ्रमण र विश्वमञ्चमा नेपालको कमजोर उपस्थितिले कूटनीतिक क्षेत्रमा अनेकौंँ विसंगति देखिएको एमालेको ठहर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =