रियलले हालान्डलाई रोक्यो, डे ब्रुएनालाई सकेन

हिमाल प्रेस २७ वैशाख २०८० ८:३१
10
SHARES
रियलले हालान्डलाई रोक्यो, डे ब्रुएनालाई सकेन

काठमाडौँ- च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले १-१ को बराबरी खेलेका छन्। रियलको मैदान सान्टियागो बेर्नाबेउमा मंगलबार राति भिनिसियस जुनियर र केभिन डे ब्रुएनाले एक-एक गोल गरे। दुवैले १८ यार्ड बक्स बाहिरबाट गरेका थिए।

खेलमा अग्रता रियलले लिएको थियो। एडुवार्डो कामाभिंगाको पासमा भिनिसियसले सिटीलाई स्तब्ध बनाउनेगरी गोल गरेका थिए। तर सिटी दोस्रो हाफको ६७ औँ मिनेटमा खेलमा फर्कियो। पहिलो हाफमा भिनिसियसले जसरी गोल गरे, डे ब्रुएनालो ठ्याक्कै उही शैलीमा गोल गरे।

बेर्नाबेउमा सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई चल्न नदिने रियलको रणनीति सफल भयो। तर डे ब्रुुएनाको गोलले भने रियललाई अप्ठ्यारोमा पारेको छ। किनभने दोस्रो लेगका लागि रियल सिटीको मैदान इत्तिहाद पुग्नु पर्नेछ। जहाँ सिटीले च्याम्पियन्स लिगका कुनै पनि खेल हारेको छैन। इंग्लिस प्रिमियर लिगको हकमा सिटी इत्तिहादमा पराजित भएको ब्रेन्टफोर्डसँग मात्र हो।

गत सिजन रियलले सिटीलाई सेमिफाइनलमै हराएको थियो। समग्र नतिजामा रियलले बाजी मारे पनि दुवै लेगमा बलियो प्रदर्शन सिटीको थियो। त्यसबेला दोस्रो लेग रियलले घरेलु समर्थकसामु खेल्न पाएको थियो। यसपालि भने निर्णायक लेग सिटीको मैदानमा हुनेछ।

१४ पटक च्याम्पियन्स लिग जितेको रियलले सन् २०२१ मा फाइनलमा पुगेको सिटीलाई नियन्त्रणमा राख्न सकेन। झन्डै ७० प्रतिशत बल पोसेसन सिटीको पक्षमा रह्यो। यति हुँदाहुँदै पनि सिटीले भनेजस्तो आक्रमण बुनन सकेन। एन्टोनियो रुडिगर र डेभिड अलाबाले हालान्डलाई स्वाभाविक खेल देखाउने मौका दिएनन्। खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दोस्रो लेगमा रणनीति परिवर्तन गरिने बताए।

‘दोस्रो लेगमा आक्रामक देखिन जरुरी छ। यसो गर्न सकिन्छ कि सकिँदैन, हेरौँ। आज त हालान्डलाई अलाबा र रुडिगरले खेल्नै दिएनन्। स्पेस पाउनै गाह्रो थियो। दोस्रो लेगमा हामी फरक तरिका अपनाउने छौँ, ताकि बढीभन्दा बढी गोल अवसर सिर्जना गर्न सकियोस्,’ ग्वार्डिओलाले भने।

रियलको मैदानमा सिटीले आक्रमण नै गर्न नसकेको भने होइन। तर सिटीका फरवार्डहरूले रियलका गोलरक्षक थिबाउट कोर्टुवालाई छिचोल्नै सकेनन्। डे ब्रुएना, रोड्री र हालान्डका कयौँ आक्रमण कोर्टुवाले विफल तुल्याइदिएका थिए।

सिटीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेकोमा रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टी अच्चम्मित देखिएनन्। उनले सिटीले बल नियन्त्रणमा राख्नु स्वाभाविक भएको प्रतिक्रिया दिए। ‘बल पोसेसनमा सिटी बलियो देखिँदा हामी निराश बन्नु पर्दैन। सुरुवाती गोलपछि हामीले राम्रो खेलेको हो। गोलका थप अवसर सिर्जना गर्‍ यौँ। सिटीको क्षेत्रमा स्पेस पायौँ। आशा छ यही स्तरको प्रदर्शन दोस्रो लेगमा पनि हुनेछ,’ एन्सिलोट्टीले भने।

एन्सिलोट्टीले संकेत गरेझैँ रियलले रक्षात्मक खेल्दै काउन्टर अट्याक गर्ने रणनीति लिएको थियो। रियलले यो रणनीतिमा खेल्दा सिटीले स्वाभाविक रुपमा बढी समय बल आफ्नो पक्षमा राख्न पायो। पहिलो रोजाइका रक्षक एडर मिलिटाओको स्थान लिएका रुडिगर हालान्डसँग आमनेसामने हुँदा डगमगाएनन्। यो सिजन ४६ खेलमा ५१ गोल गरेका हालान्डलाई चेल्सीका पूर्वरक्षक रुडिगरले निरन्तर ब्लक गरिरहे।

‘रुडिगरको प्रदर्शन तारिफयोग्य थियो। हामीले आफ्नो सबल पक्ष केलाउने हो भने, उनकोे तारिफ गर्नैपर्छ। हुन त अरु खेलाडी पनि उत्तिकै प्रभावकारी देखिएकै हुन्। हामीले रक्षापंक्ति बलियो बनाएकै कारण सिटीले धेरै मौका सिर्जना गर्न सकेन। सिटीले गरेको गोल पनि बक्सबाहिरबाट थियो,’ एन्सिलोट्टीले भने।

दोस्रो हाफमा रियलले सिटीमाथि दबाब बढाएको थियो। ‘प्रेसिङ’ बढाएको रियलले आक्रमण बुन्न जाँगर पनि चलायो। तर त्यहीबेला डे ब्रुएनाले गोल गरे। सिटीले गोल गर्दा रियलकै रणनीतिको प्रयोग गरेको थियो। ‘हामीले सुरुवात राम्रो गरेको हो। तर भिनिसियसले चलाखीपूर्वक गोल गरेपछि हामी एक्कासी दबाबमा पर्‍ यौँ। हामी राम्रो खेलिरहेका बेला रियलले गोल गर्‍ यो। रियल राम्रो खेलिरहेका बेला हामीले गोल गर्‍ यौँ। म्यानचेस्टरमा हुने दोस्रो लेग फाइनलसरह हुनेछ,’ ग्वार्डिओलाले भने।

प्रकाशित: २७ वैशाख २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast