पोखरा- पोखरामा शनिबार हुने सातौँ ‘पोखरा स्पोर्टस् अवार्ड’को ट्रफी सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेको हो।
प्रदेश खेलकुद परिषद्, नेपाल पत्रकार महासंघ कास्की, गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेशबहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।
स्पोर्टस् अवार्ड ७ विधामा प्रदान गरिनेछ। लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई दिइने भएको छ। उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ह्याण्डबल संघ सम्मानित हुनेछ। उत्कष्ट खेलपत्रकारलाई पनि पुरस्कृत गरिनेछ।
अन्य विधामा मनोनयनमा परेका तीनमध्ये एकलाई निर्णायक समितिको निर्णय आधारमा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए। वर्ष खेलाडी पुरुषमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन्। वर्ष खेलाडी महिनामा आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा छन्।
उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी तथा प्रशिक्षकमा आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका नीरज थापा र आईटीएफ तेक्वान्दोका सुरज सुनार छन्। वर्ष खेलाडीलाई स्कुटर दिइनेछ भने अन्य विधामा ३५ हजार नगद दिइनेछ।
यस्तै, नवौँ राष्ट्रिय खेलकुदमा दुर्घटनामा परेर ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिम थापालाई मञ्चले कीर्तिशेष सम्मान गर्ने महासचिव राजाराम पौडेलले बताए।