काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई टाट पल्टाउनुबाट जोगाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले सार्वजनिक सम्पत्तिका रूपमा मुलुकका ठूला उद्योग बेचेर टा पल्टाउने काम भइरहेको भन्दै त्यसबाट बचाउनुपर्ने बताएका हुन्।
एमालेले सरकार छाडेको दुई वर्ष नपुग्दै मुलुकको अर्थतन्त्र तहसनहस भएको उनको भनाइ थियो। ‘सार्वजनिक सम्पत्तिका रूपमा मुलुकका ठूला उद्योगहरूलाई निजीकरणका नाममा कौडीका नाममा बेचेर देशलाई टाट पल्टाउने काम हिजो भएको थियो,’ उनले भने, ‘आज पनि हुन खोजेकाले यसलाई रोक्नुपर्छ।’
त्यस्तै औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरले योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गरिएको भन्दै ओलीले विदेशमा रोजगारी गर्ने नेपालीहरूका लागि पनि योगदानका आधारमा पेन्सन कार्यक्रम सुरुवात गर्नुपर्ने बताए।