उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा निकायलाई राजनीतिक दबाबमुक्त बनाउने बताएका हुन्।
सुरक्षा निकाय र गृह प्रशासन कुनै शक्ति केन्द्र वा कुनै पनि राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो। उनले सुरक्षा निकायमा हुने विचौलियाको भूमिकालाई शून्यमा झारिने पनि प्रतिबद्धता व्यक्त गरे।
राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउनेगरी काम गरिरहेको उनले बताए। सुरक्षा निकायमा काम गर्नेहरूको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै उनले दबाबरहीत प्रणाली स्थापित गर्नुपर्ने बताए।
निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने उनको भनाइ थियो। ‘हाम्रो सुरक्षा निकाय र गृह प्रशासनमा राजनीति, कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘पहिलो त्यसबाट हामी मुक्त रहौँ। साथै चलनचल्तीमा सुनिएका विभिन्न चलखेल हुने, विचौलियको भूमिका पनि हुने, भन्ने थियो, त्यसलाई शून्यमा झारिनेछ।’



