यो उमेरमा पाथीभरा जान्छु होला भनेर सोचेको पनि थिइनँ। तर ‘स्प्ल्यास नेपाल’का अध्यक्ष ऋतुराज भण्डारीले ‘धरानबाट जाउँला र फर्कँदा झापा भएर फर्कौंला’ भनेसि पाथीभरा जाने योजना बन्यो। भण्डारीको घर झापा हो। त्यसैअनुसार व्यवस्था मिलाउनुभएको होला भन्ने सोचेँ। साथमा युवा साथी राजन खड्कालाई पनि लिएर जाने सल्लाह भयो। केही तलबितल परे उहाँले सहयोग गर्नुहुुन्छ भन्ने थियो।
उमेरका कारण अलि अप्ठ्यारो लागिरहेको थियो। भण्डारी ६९ वर्षको मान्छे। म उहाँभन्दा कान्छो। तैपनि उहाँ कसिएपछि लाजगालले पछि हट्न मिलेन। आखिर हामी जाने भयौँ। हिन्दी फिल्म ‘उचाइ’बाट निकै प्रभावित भएको थिएँ। बुढेसकालमा हिमाल चढ्नेहरूका कथा छ त्यसमा। पिठ्यूँमा झोला भिरेर हामी पनि हिँड्यौँ। हामी हुइँकिँदा अँध्यारो भइसकेको थियो।
हामीले फुङ्लिङ बजारमा बस्ने निधो गर्यौँ। त्योभन्दा माथि जाने अवस्था बनेन। माथि सुत्ने व्यवस्था राम्रो नभएको कुरा थाहा पाएपछि फुङलिङमै बसियो। काफ्लेपाटी पुगेको भए जाती हुन्थ्यो भन्ने थियो हामीलाई।
हवाईजहाजमा फुत्त उडेर जानेहरूचाहिँ सुकेटार विमानस्थलबाट काफ्लेपाटी गएर बस्छन्। बेलैमा फुङलिङ पुग्ने पनि माथि नै गएर बस्छन्। हामी भने ढिलो गरी पुगेको हुँदा तलै बजारमा बसेर बिहान चाँडै माथि उक्लने विचार गर्यौँ। बिहान ४ बजे उठेर हिँड्दा पनि समयमा नै पुगिन्छ भनेर सोच्यौँ।
५ बज्नुअघि नै हामी उकालो लाग्यौँ। चारपांग्रे सवारीसाधनमा गएको हुँदा आफ्नै गाडीबाट माथि जान सकियो। अन्यथा बाटोको अवस्था हेर्दा अरू सवारीसाधन जान सक्ने अवस्था छैन। हुन त मोटरसाइकल लिएर पनि गएका थिए। हामी काफ्लेपाटी वा तल्लोफेदी पुग्दा ६ बजेको थियो।
तल्लो फेदीबाट ३७९४ मिटरसम्म उचाइमा पुग्नुपर्छ। एकैपटक हजार मिटर चढ्दा लेक लाग्ने सम्भावना बढी हुन्छ। अझ हामी तल बजारमा बसेर आएको हुँदा लेक लाग्ने सम्भावना त्यस्तै थियो। तल्लोफेदीमा पूजाको सामग्री किनेर, लौरो टेक्दै उकालोको यात्रा सुरु भयो।
पाथीभरा देवीलाई शक्तिपीठ मानिने भएकाले हामी चैत नवमीको दिन पारेर दर्शनका लागि गएका थियौँ। यहाँ पाथीभरासँग पञ्चकन्यासमेत रहेको मानिन्छ। पाथीभराको उल्लेख ‘मुन्धुम’मा पनि गरिएको भनिन्छ। लिम्बूहरूले पाथीभरालाई मुक्कुमलुङ भन्छन्।
बालबच्चा, बूढाबूढी, तन्नेरी सबै जातजातिका मान्छे मनोवाञ्छित फल पाउन कष्टसाध्य यात्रा गरेर त्यहाँ पुग्छन्। हामी पनि रमाउँदै, गीत गाउँदै उकालो चढ्दै गयौँ। विभिन्न प्रजातिका गुराँसका फूल हेर्न पायौँ। रातो रङको मात्र नभई सेतो, बैजनी, कलेजी रङका गुराँस देख्दा मनै हर्षित भयो। प्रकृतिको अनुपम रूपले मोहनी लगायो।
गुराँसजस्तै देखिने चिमल फूललाई गुराँस भनेर झुक्किएर सुँघ्यो भने विष लाग्ने रहेछ। रमाउँदै यात्रा गर्दैगर्दा सहयात्री ऋतु भण्डारीलाई लेक लागिहाल्यो। साथमा लगेको औषधि, घरेलु विधि लसुन र अदुवा सुँघेपछि त्यसको असर कम हुँदो रहेछ। अदुवा सुँघाउँदै लगियो। बाटोमा एक जना चौरासी वर्षका वृद्ध पनि भेटिए। दृढ इच्छा शक्ति भए उकालीको के कुरा! मानिसलाई शारीरिक बलले भन्दा मानसिक बलले प्रेरित गर्दो रहेछ। त्यसैले शरीरभन्दा मन बलियो हुनुपर्ने लाग्यो। हामी शिखरमा पुग्नुअघि नै देवीको दर्शन गरेर फर्किदै थिए ती वृद्ध।
शिखरतर्फ पाइला बढाउँदा फेदीबाट यात्राको आरम्भ गरिनुपर्छ। सुरुसुरुमा यात्रा सहज लागे पनि जति उचाइ बढ्दै जान्छ त्यति कठिन बन्दै जान्छ हिँडाइ। पहाडको तरेली फेरिएसँगै यसको फेदी पनि फेरिन्छ। फेरि त्यसैलाई आधार मानेर अर्को फेदीबाट यात्रा जारी राख्नुपर्छ। जसै तल्लो फेदीबाट सुरु गरेको यात्रा ठूलो फेदीमा आएर रोकियो। केहीबेरको विश्रामपछि फेरि अर्को यात्रा सुरु भयो, कष्टकर, दुरुह, ठाडो उकालोको। तल्लो फेदीदेखि नै ढुंगा चिनेर भर्याङ बनाइएका छन्। मनकारीहरूले ठाउँठाउँमा विश्रामस्थल पनि बनाएका छन्।
शिखरमा सम्म परेको ठाउँ छ। देवीको मन्दिर त्यहीँ छ। देवीको मन्दिर भन्नाले देवीस्थल। देवीको अतिसुन्दर प्रतिमा खुला आकाशमुनि छ। हामी मन्दिरमा पुग्दा हवन, पूजन र लाखबत्ती बाल्ने कार्य हुँदै थियो। पूजापाठ गरी मन्दिर परिसरको आनन्द लियौँ।
शिखरमा पुग्दा आनन्दको अनुभूति हुन्छ। शान्त परिवेश, खुला आकाश, चिसो बतासले छोएर जाँदा पहाड उक्लिँदाको क्लान्त शरीरले नवऊर्जा प्राप्त गरेजस्तो। प्रायः देवी पहाडको शिरमा बस्न रुचाउँछिन्। बडिमालिका पाथीभराजस्तै देवी हुन्। जो शिखरमा बस्छिन्। मनकामना पनि पहाडको शिरमा नै बस्छिन्।
प्रकृतिसँग साक्षात्कार हुँदा अनौठो आनन्द प्राप्त हुन्छ। पहाडी यात्रा स्वयम्मा एउटा योगाभ्यास पनि हो। नचाहेरै पनि योग साधना गरिन्छ जस्तो लाग्छ। श्वासप्रश्वासको नियन्त्रण, संयम र धैर्यको पाठ उकालो चढ्दा सिकिन्छ। आफूले आफैँलाई नियन्त्रण गरिन्छ। मन एकाग्र हुन्छ।
हामी पुग्दा बादलले पहाड धुम्मिएको थियो। हिउँ पर्लापर्ला जस्तो हुँदै थियो। आकाश खुलेका बेला कञ्चनजंघा, सगरमाथा, लोत्से, कुम्भकर्णलगायत हिमाल देख्न सकिन्छ। मौसमी प्रतिकूलताका कारण हामी त्यस अवसरबाट वञ्चित भयौँ। मौस्म उस्तै र एकैनासको कहाँ हुन्छ अनि जीवन पनि। कहिले घाम कहिले पानी। बादलले ढाकेर प्रकृतिले त्यसरी सुन्दरता नलुकाएको भए त्यसबारे किन उत्सुक हुन्थ्यो। जीवनमा सबै कुरा सहजै पाइँदैनन्। त्यसका लागि धैर्य गर्नुपर्छ, सायद प्रकृतिले यही सन्देश हामीलाई दिन खोजिरहेको थियो।
डाँडामा कहाँबाट पानी पाउनु? हामीसँग भएको पानी पनि जुठो भइसकेको थियो। त्यसैले हिउँले नै हात सफा गर्यौँ। अनि मन्दिरमा धूपबत्ती बाल्यौँ। नरिवल चढाई देवीको पूजा गरेँ। प्रतिमाको सुन्दर मुखाकृतिको दर्शन गरेँ।
त्यहाँ धेरैबेर प्रतीक्षा गरेर बस्न सक्ने अवस्था थिएन। देवी दर्शन गरेर हामी आएकै बाटो फर्कियौँ। अघि उकालो उक्लिन कठिन थियो, अहिले ओराली झर्न झनै कठिन। उकालो उक्लिन पाँच घण्टा लागेको थियो, ओरालो ओर्लन दुई घण्टा। सात घण्टामा यात्रा पूरा गरिएछ। उकालो उक्लिँदा हातमा एउटा लौरो थियो भने ओर्लिँदा दुइटा। अत्यन्त असहज अवस्थामा साथ दिएको हुँदा आफूले टेकेको लौरो छोड्न मन लागेन। साथै काठमाडौँ लिएर आएँ। उकालोको सहयात्री लौरो। अब यो लौरो सधैँ मसँग रहने भयो पाथीभरा दर्शनको भौतिक साक्षी बनेर। पाथीभराको चिनो बनेर।