कालापत्थर बन्दैछन् हिमाल

हिमाल प्रेस २५ माघ २०७९ १३:२५
36
SHARES
कालापत्थर बन्दैछन् हिमाल हिउँ नपर्दा कालो चट्टान जस्तै देखिएको कञ्चनजंघा हिमशिखर । फाइल तस्बिरः रासस

ताप्लेजुङ- विगतमा मंसिरको दोस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो। हिउँले छोपिएर हिमालहरू सेताम्मे हुन्थे। तर अहिले माघ सकिन लाग्दासमेत हिमाली क्षेत्रहरूमा हिमपात भएको छैन। विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ।

हिमालमा स्नो लाइन (हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताए। ‘जलवायु परिवर्तनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ,’ उनले भने।

कञ्चनजंघा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँचितुवाको विशेष बासस्थान मानिन्छ। हिउँ पग्लँदै गएपछि हिउँचितुवासमेत संकटमा पर्न सक्ने राईले चिन्ता व्यक्त गरे।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफ नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो। त्यस समयमा कञ्चनजंघा क्षेत्रमा २४ हिउँचितुवा पाइएको विभागले जनाएको छ।

समयमै हिमपात नहुँदा पर्यावरणमा आउन सक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। हिमतालहरू सुक्ने, पानीको मुहानहरू सुक्दै जाने, वन जंगल सुक्खा हुने भएकाले डढेलो लाग्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ।

पर्यटकीय गतिविधि ठप्प

कञ्चनजंघा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।

सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन्। समयमा हिउँ नपर्दा हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने विदेशी पर्यटकहरू आउँदैन कि भन्ने चिन्ताले पर्यटन व्यवसायी सेराप शेर्पालाई सताएको छ।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन यतिबेला ठप्प छ। कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ।

विगतका वर्षमा कञ्चनजंघा पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ। गत भदौदेखि मंसिरसम्म जम्मा ४३९ जना बाह्य पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गर्न पुगेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए। लिम्बूका अनुसार मंसिरयता भने पर्यटकको आगमन शून्य छ।

संकटमा चौँरी

ताम्लिङ शेर्पा बिहानको घाम ताप्दै कञ्चनजंघा हिमालतिर हेरेर टोलाउने गर्छन्। उनको घर समुद्र सतहदेखि ४२०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, याङमा गाउँमा हो। याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो। शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन्।

उनको पुर्ख्यौली पेसा पशुपालन हो। उच्च हिमाली क्षेत्र भएकाले याङमा गाउँमा चौँरी याकपालनका लागि अनुकूल क्षेत्र हो।

यस क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भने चौँरी याक गोठ हो। समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा हिउँ पग्लेपछि हिमताल सुक्न गई पानीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सताउन थालेको स्थानीय फिन्सो शेर्पाको भनाइ छ।

सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी याक चरनमा समस्या आउने चिन्ता लागेको उनी बताउँछन्।

‘हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो। हिमाल सुक्खा भयो भने पानीको मुहानहरू सुक्छ,’ उनले भने, ‘चौँरी याकहरूले पानी खान पाउँदैन। जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन। घाँस नभएपछि चौँरी याकहरु तिर्खा र भोकले मर्नेछन्।’

उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन। त्यसैले यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पशुपालन हो।

‘हिमालमा हिउँ पग्लँदै गएको छ। खेतबारीहरूसुक्खा हुँदैछ,’ फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भने, ‘बारीमा जौ, गहुँमा बाला लाग्न नपाई सुक्दै गएको छ।’

पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन बिहान–बेलुका पाइपबाट सिँचाइ गर्नु परेको उनले बताए। हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली सुक्दै गएको सिरिजंगा गाउँपालिका–५ मामाङ्खे टीका माबोले बताइन्। ‘खडेरीबाट हिउँदे बाली र अलैँची जोगाउन मुस्किल भएको छ।’

विगतका वर्षहरूमा मंसिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो। समयमा हिमपात र वर्षा नहुँदा वैशाख र जेठ महिनामा असिना पर्छ भन्ने चिन्ता लागेको फुक्ताङलुङ गाउँपालिका–६ मादिबुङका सन्तकुमार फेम्बूले बताए। समयमा हिमपात नहुँदा तथा कम हिमपात हुँदा असिना ज्यादा पर्छ भन्ने जनविश्वास रहेको फेम्बूले बताए। सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ।  -दिलकुमार लिम्बू/रासस

प्रकाशित: २५ माघ २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =