काठमाडौँ- सत्ता गठबन्धनको आज बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक दिउँसो ४ बजे फेरि बस्ने गरि स्थगित भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भागबन्डा टुंग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। तर अझै भागबन्डामा सहमति जुटेको छैन्।
हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिमरूप दिने तयारी छ। दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस भइरहेको छ।
सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठवटा मन्त्रालयमा दाबी गरिरहेको छ। माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ।
यद्यपि, प्रधानमन्त्री प्रचण्डलेले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन्। यस्तै, एकीकृत समाजवादी र जसपाले कम्तिमा तीन/तीन मन्त्रालय पाउनु पर्ने अडान लिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ। धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री प्रचण्ड दबाबमा छन्।