लोसपाले भन्यो : सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छ

हिमाल प्रेस ९ चैत २०७९ १५:४८ | Thursday, March 23, 2023
लोसपाले भन्यो : सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छ फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन्।

उनले निर्वाचन अघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँचै वर्ष टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताए। उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए।

‘समसामयिक परिस्थति र राजनीति तथा सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ। हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ। अहिले जुन कोर्ष करेक्शनको कुरा छ, अर्थात् प्रि इलेक्सन अनाउन्स अघिको गठबन्धन शुरु भएको छ, त्यति बेला नेपाली काँग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो’, उनले भने, ‘त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिव करिव बहुमत आएको थियो।’

नेता भण्डारीले गठबन्धनको घटक भएकाले आफ्नो पार्टी जिम्मेवार भएर अघि बढ्ने भन्दै यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय गरेको बताए। ‘गठबन्धनमा भएका पार्टीहरूको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ। संगठन बिस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ। उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ। बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो’, भण्डारीको भनाइ छ।

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताए। उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताए।

प्रकाशित: ९ चैत २०७९ १५:४८ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast