 
                             
                                            बागलुङ- बागलुङको बरेङ गाउँपालिका १ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मंसिरमा बिजुली बल्यो।
गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो। स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो।
बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसंख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो। आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे। अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पुर्याएपछि स्थानीयमा खुसीयाली छाएको छ। अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ।
पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युत्ले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताउँछन्।
लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उनको विश्वास छ। अध्यक्ष क्षेत्रीले भने, ‘बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दंग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो। अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ।’
विद्युत् प्राधिकरण्लो बरेङ गाउँपालिका छापा र ओखरेनीका एक सय ५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका एक सय ५० गरी तीनसय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पुर्याएको छ।
लघु जलविद्युत्को भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ। स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गरे।
अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी सञ्चालन गर्न सकिने उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताए। स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाइ छ।
दुई वर्षमा सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन
अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ। विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ। उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताए।
बडिगाडको खार बजार र रमुवाका करिब तीन सय घरमा विद्युत् जडान सुरु गरिएको उनको भनाइ छ। सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ। बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताए।
जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका दुई सय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ।
पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेशन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सवस्टेशन निर्माण भइरहको उनको भनाइ छ। यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पुर्याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले बताए। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 