बिरामीलाई डायलासिस उपचारमा सहज

हिमाल प्रेस २८ कार्तिक २०७९ १०:४३ | Monday, November 14, 2022
बिरामीलाई डायलासिस उपचारमा सहज

तनहुँ- दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन्। तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ।

विसं २०७२ मंसिर २ गतेदेखि एक करोड २५ लाख रुपैयाँको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो। हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।

डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ। अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन्। गण्डकी प्रदेश सरकारले सत्रुघ्‍न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ।

केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ। हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ। गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरुका लागि तालिम दिने केन्द्रका रुपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए।

प्रदेश सरकारले अरू चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ। अध्यक्ष थापाले भने, ‘मंसिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ।’ हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए।

अस्पतालसँगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा संघीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ १०:४३ | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast