वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

हिमाल प्रेस ४ चैत २०७९ १०:११ | Saturday, March 18, 2023
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

वीरगञ्ज- सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतंक बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ।

हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो।

छाडा कुकुरलाई दैनिक संकलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए।

गत मंगलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत आजसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको उनले बताए। पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने उनको भनाइ छ।

वीरगञ्जमा छाडा कुकुरको सङ्ख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिए। कुकुरको संख्या दैनिकरूपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने नगरप्रमुख सिंहको विश्वास छ।

छाडा कुकुरको आतंकलाई रोक्न केही दिनअघि महानगरपालिकाले कुकुर मार्ने अभियान चलाएको थियो तर अधिकारकर्मीले कुकुर मार्ने अभियानविरुद्ध आन्दोलन सुरु गरेपछि महानगरपालिकाले मार्ने अभियानको साटो बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान चलाएको हो।

प्रकाशित: ४ चैत २०७९ १०:११ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast