मगर खाम भाषा संरक्षणमा चासो

हिमाल प्रेस ४ चैत २०७९ ९:३५ | Saturday, March 18, 2023
मगर खाम भाषा संरक्षणमा चासो

तुलसीपुर- दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ। मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङले यो अभियान थालेको हो। ‘मगर संस्कार, संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्नका लागि हामी सक्रिय छौँ’, प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले भने, ‘पछिल्लो समय नयाँ पुस्ताले मगर खाम भाषामा चासो दिन छोडेका छन्।’

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएको उनको भनाइ छ। यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएको उनले बताए।

रिडीको पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वी भागमा बोलिने १२ मगरातको (मैढुट) र सुदूरपश्चिममा बोलिने (काइकेल) भाषा मगर समुदायका प्रमुख भाषीका रहेका छन्।

मगर भाषाको खास लिपि पनि छैन। ‘अख्का लिपि हो भनेर भ्रममा पार्ने गरिन्छ’, पुनले भने, ‘तर, त्यो मगरको लिपि होइन, त्यसैले देवनागरिक नै हामीले स्वीकारेका छौँ’, रोल्पा, रुकुमबाट दाङ बसाइँसराइ गरी आएका मगर समुदायको मुख्य भाषा खाम भए पनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उनको भनाइ छ।

बालबच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेको उनले बताए। नेपालमा २५ लाख मगर समुदाय रहे पनि करिब १९ लाखले मात्रै मगर भाषा बोल्ने गर्छन्।

प्रकाशित: ४ चैत २०७९ ९:३५ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast