२२ वर्षमा पहिलोपटक समान पारिश्रमिक पाएँ : प्रियंका चोपडा

हिमाल प्रेस २८ फागुन २०७९ ११:१६ | Sunday, March 12, 2023
२२ वर्षमा पहिलोपटक समान पारिश्रमिक पाएँ : प्रियंका चोपडा

काठमाडौँ- भारतीय अभिनेत्री प्रियंका चोपडा हलिउड वेब सिरिज ‘सिटाडेल’मा देखिँदैछिन्। अमेजन प्राइम भिडियोबाट प्रसारण हुने वेब सिरिज अप्रिल २८ बाट सुरु हुनेछ।

प्रियंकाले २२ बर्से अभिनय करियरमा पहिलोपटक पुरुष कलाकार समान पारिश्रमिक पाएको खुलासा गरेकी छन्। ‘सिटाडेल’मा प्रियंका र रिचर्ड म्याडेन मुख्य भूमिकामा छन्।

मार्च १० मा ‘साउथ बाई साउथवेस्ट फिल्म फेस्टिभल’मा उनले सो कुरा खुलाएकी हुन्। अमेजन स्टुडियोका प्रमुख जेनिफर साल्केसँग कुराकानी गर्दा उनले भनेकी थिइन्, ‘म २२ वर्षयता मनोरञ्जन क्षेत्रमा छु। झण्डै ७० भन्दा बढी फिल्म र दुईवटा टीभी कार्यक्रम गरिसकेँ। आफ्नो करियरमा पहिलोपटक ‘सिटाडेल’का लागि मैले समान पारिश्रमिक पाएकी छु।’

‘हरेक प्रोजेक्टमा मैले पनि त्यति नै काम र मेहनत गर्छु, जति पुरुष कलाकारले गर्छन्,’ उनले थपिन्, ‘तर मैले पुरुष कलाकारको तुलनामा कम पारिश्रमिक पाउँदै आएँ। तर अमेजन स्टुडियोले ‘तिमी पनि त्यति नै पारिश्रमिककी हकदार छौँ, जति पुरुष कलाकार’ भने।’

सिनेमामा प्रतिनिधित्व र समावेशिताबारे बोल्दै प्रियंकाले साल्केलाई भनिन्, ‘अमेरिका जस्तो देशमा हामी विविधता र समावेशिताको कुरा गर्छौं। विविधता कस्तो देखिन्छ र सबैले कसरी हेर्नुपर्छ भन्ने कुरा गर्छौं। विश्वव्यापी विविधता आवश्यक छ। विविधता भनेको तपाईं कसरी बोल्नुहुन्छ, तपाईंको मुखबाट निस्कने शब्द, तपाईंले प्रयोग गर्ने भाषा आदि हो। जो विश्वव्यापी विविधताका लागि महत्त्वपूर्ण छ।’

वेब सिरिज ‘सिटाडेल’को ट्रेलर केही दिनअघि सार्वजनिक भएको थियो। जसमा प्रियंका गुप्तचरका रूपमा देखिएकी छन्। उनले एक्सन गरिरहेकी छन्। वेब सिरिजमा उनी नादिया सिंह नामक जासुसको भूमिकामा छिन्। नामबाट प्रस्ट हुन्छ उनी भारतीय मूलको चरित्र गर्दैछिन्। वेब सिरिजमा प्रियंकासँगै रिचर्ड म्याडेन र स्टेनली टुची मुख्य भूमिकामा छन्।

प्रियंका अभिनीत हलिउड फिल्म ‘लभ अगेन’ मे १२ मा प्रदर्शनमा आउनेछ। सो फिल्ममा उनले सेम ह्युघन र सलिन डियोनसँग काम गरेकी छन्।

प्रकाशित: २८ फागुन २०७९ ११:१६ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast