मध्यभोटेकोसीबाट चार महिनाभित्रै विद्युत् उत्पादन थालिने

हिमाल प्रेस २७ फागुन २०७९ १६:१५ | Saturday, March 11, 2023
मध्यभोटेकोसीबाट चार महिनाभित्रै विद्युत् उत्पादन थालिने

काठमाडौँ- सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट आगामी ४ महिनाभित्रै विद्युत् उत्पादन थालिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्‍काे अगुवाइमा निर्माणाधीन आयोजना निर्माणको काम ९५ प्रतिशत सकिएकाले आगामी चार महिनाभित्रै विद्युत् उत्पादन थालिने भएको हो।

नेपाल विद्युत् प्राधिकरणले अन्तिम चरणका काम भइरहेको भन्दै आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको बताएको छ।

प्राधिकरणका अनुसार आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवर्क्स)को निर्माण सकिएको छ। हाल हेडवर्क्स क्षेत्रको प्रोटेक्सन काम भइरहेको छ।

७.२ किलोमिटर मुख्य सुरुङ खन्ने काम पनि सकेर कंक्रीट लाइनिङको काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

विद्युत्गृहको मुख्य सिभिल काम सकेर टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरू जडान भइरहेका छन्। विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरू निर्माणको काम सकिएको छ।

विगतमा जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी, भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड-१९का कारण आयोजना निर्माणको काममा ढिलाई भएको प्राधिकरणको भनाइ छ।

पछिल्लो करिब दुई वर्षयता ठेकेदार कम्पनीले राम्रो काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्‍याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

आयोजना निर्माण चिनियाँ कम्पनीले गरिरहेको छ। कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक रहेको बताए।

प्रकाशित: २७ फागुन २०७९ १६:१५ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast