एसी मिलान ‘लेजेन्ड’ माल्दिनी पुत्रको गोलमा इन्टर पराजित

हिमाल प्रेस २७ फागुन २०७९ ९:४४ | Saturday, March 11, 2023
एसी मिलान ‘लेजेन्ड’ माल्दिनी पुत्रको गोलमा इन्टर पराजित

काठमाडौँ- रेलिगेसनबाट बच्न संघर्षरत स्पेजियासँग २–१ को अप्रत्याशित हार व्यहोरेपछि इन्टर मिलानले शीर्षस्थानको नापोलीसँग दूरी कम गर्ने मौका गुमाएको छ। शुक्रबार राति इन्टरलाई पराजित गर्न स्पेजियाका डानियल माल्दिनी र एमबाला एनजोलाले एक–एक गोल गरे। इन्टरबाट रोमेलु लुकाकुले एक गोल फर्काए।

जारी सिरी ‘ए’ मा इन्टरको यो आठौँ हार हो। २६ खेल खेलेको इन्टरको ५० अंक छ। जुन एक खेल कम खेलेको नापोलीभन्दा १५ अंकले कम हो।

स्पेजियाको मैदानमा इन्टरले १५ औँ मिनेटमा अग्रता लिने मौका खेर फालेको थियो। लाउटारो मार्टिनेजले प्रहार गरेको पेनाल्टी स्पेजियाका गोलकिपर बार्टलोमेइज ड्राग्वोस्कीले सहजै रोके। दोस्रो हाफको ५५ औँ मिनेटमा घरेलु टिमले अग्रता लियो। आक्रामक मिडफिल्डर डानियल माल्दिनीले एनजोलाको पासमा गोल गरेका थिए।

डानियल माल्दिनी एसी मिलानका ‘लेजेन्ड’ पाओलो माल्दिनीका छोरा हुन्। मिलानबाट हाल ऋण सम्झौतामा स्पेजियाबाट खेलिरहेका उनले यो सिजन मिलानविरुद्ध पनि गोल गरेका थिए।

खेल सकिन सात मिनेट बाँकी छँदा इन्टरले बराबरी गोल फर्काएको थियो। डेन्जेल डमफ्रिजले पाएको पेनाल्टीलाई लुकाकुले सहजै गोलमा परिणत गरे।

तर इन्टरको खुसीयाली धेरै समय टिकेन। चार मिनेटपछि नै स्पेजियाले पेनाल्टी पायो। डमफ्रिजले नै भिक्टोर कोभालेंकोमाथि फाउल गरेपछि स्पेजियालो पेनाल्टी पाएको थियो। जसमा एनजोलाले गोल गरे।

इन्टरले घरबाहिर लगातार लगातार दोस्रो हार व्यहोरेपछि नापोलीसँग अब अंक दूरी १८ अंकमा पु¥याउने अवसर छ। नापोली शनिबार छैटौँ स्थानको एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ।

इन्टरलाई हराएको स्पेजिया १७ औँ स्थामा छ। २६ खेल खेलेको स्पेजियासँग २४ अंक छ भने १८ औँ स्थानको हेल्लास भेरोनाले १८ अंक बटुलेको छ।

प्रकाशित: २७ फागुन २०७९ ९:४४ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast