चितवनमै सम्भव भयो मुटुको जटिल शल्यक्रिया

हिमाल प्रेस १६ फागुन २०७९ ११:००
6
SHARES
चितवनमै सम्भव भयो मुटुको जटिल शल्यक्रिया

चितवन- नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ। भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डीटीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो।

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो। डीटीजीए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए। उनले भने, ‘मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ।’

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन्। दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, ‘त्यो पनि हामीले ठाउँ बदल्यौँ।’ महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ।

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उहाँले त्यसमाथि मुटुजस्तो संवेदनशील अंगको शल्यक्रिया झनै जटिल हुने बताए। गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो। शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शंका गरेर महिमालाई सिफारिस गरेका थिए। बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन्। उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

प्रकाशित: १६ फागुन २०७९ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast