काठमाडौँ- सयौँ वर्षको कालखण्डका अनेकौँ तथ्यको उत्खनन-अन्वेषण, अभिलेखीकरण, प्रमाणीकरणजस्ता कार्यहरूको बलमा सभ्यता निर्माणको इतिहास जान्न सकिन्छ । दुर्भाग्य भन्नुपर्छ, नेपाल-सभ्यताको निर्माण-पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य-पक्षको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकाय चुकिरहेका छन्।
इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ। मन्दिरैमन्दिरको सहरको उपमाबाट चिनिएको काठमाडौँ उपत्यकामा के-कति पुरातात्त्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरबाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारी बेखबर छन्। यही टीठलाग्दो अवस्था छ।
नेपाल पहिचानका अनेक आधारमध्ये एक सांस्कृतिक सम्पदा पनि हो। सांस्कृतिक सम्पदाहरूले नै नेपालको आधा पहिचान बोकेको छ। नेपाली पहिचान झल्काउने सम्पदाको संरक्षण र संवर्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो।
देशको पहिचान बोक्ने सम्पदाहरूको संरक्षण भएन भने नेपालको मानप्रतिष्ठा जोगिन कसरी सक्छ? तर अवस्था त्यस्तो छैन। काठमाडौँ उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदा जीर्ण र बेवारिसे छन्। कतै फोहोरै फोहोर त कतै परम्परागत ढुंगेधारालाई संरक्षणको साटो बेन्च राखेर छोपिएको छ। फुटपाथका पसलले सम्पदा परिसर छपक्कै छोपिएको छ।
सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्री झुन्ड्याइएको छ भने सम्पदा वरपर सजावटका लागि राखिएका गमला फुटेर मानिसलाई गिज्याइरहँदासमेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन्।
मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदालाई हेपिरहेको भान दिलाउँछ। अझ भनौँ, पार्किङले सम्पदा छोपिएको छ। नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरूको संरक्षण गर्न मेत सरकार लाचार छ।