बैंकहरूको ज्यादतीविरुद्ध आन्दोलन घोषणा

हिमाल प्रेस ८ फागुन २०७९ १५:३७
8
SHARES
बैंकहरूको ज्यादतीविरुद्ध आन्दोलन घोषणा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

सिन्धुपाल्चोक- बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी व्यवसायी आन्दोलन घोषणा गरेका छन्। बैंकहरूले चर्को ब्याज लिएको भन्दै सिन्धुपाल्चोकका उद्योगी व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका हुन्। आइतबार उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको ज्यादतीविरुद्ध के कस्ता कदम चाल्ने भन्ने विषयमा छलफल गरेका थिए।

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूका क्रियाकलाप निरन्तर रहेमा व्यवसायीहरू संगठित भएर देशैभर आन्दोलनमा उत्रिने घोषणा गरे। बैंकहरू नसच्चिए व्यवसायीहरू आन्दोलन गर्न बाध्य बाध्य हुने उनको भनाइ थियो।

बैंक वित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको उनको भनाइ थियो। उनले व्यवसायीहरूमा आइपरेका समस्या सम्बोधन गर्न सरकारसँग माग गरे। समस्या सम्बोधन नभए व्यवसायीहरू प्रतिरक्षात्मक ढंगले उत्रिने अध्यक्ष श्रेष्ठको चेतावनी थियो।

बैंक तथा वित्तीय संस्थाहरूमा त्रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरूलाई सच्याएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो। त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरू भित्रै आपसमा समस्या आएमा व्यावहारिक रूपमा मिलाउने तर व्यवसायी समस्यामा पर्दा वास्ता नगर्ने बताए।

बैंकहरूले पहिला ऋणीहरूबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेकोले समेत बैंकहरूको ज्यादती पुष्टि हुने उनको भनाइ थियो। राष्ट्र बैंकले बैंकहरूमाथि नथी लगाएमा बैंकहरू सीमाअनुसार चल्न बाध्य हुने उनको सुझाव थियो। ऋणीहरूलाई सम्झौता बेगरको ब्याजदर असुलेर लिने कुरा सह्य नहुने भन्दै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने उनको भनाइ थियो।

कानूनका त्रुटीहरू सच्याएर अघि बढ्नुपर्ने अन्तरक्रियामा सहभागीहरूको धारणा थियो। देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरूका लागि सम्बन्धित निकायले व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने व्यवसायीहरूको माग छ। यसअघि गत शुक्रबार काठमाडौँमा उद्योगी व्यवसायीका विभिन्न ४७ वटा संगठनहरूले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: ८ फागुन २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast