बगरमा काँक्रा र खरबुजा फलाउँदै कैलालीका किसान

हिमाल प्रेस ५ फागुन २०७९ १७:२७
6
SHARES
बगरमा काँक्रा र खरबुजा फलाउँदै कैलालीका किसान फाइल तस्बिर।

धनगढी– कैलालीको धनगढी उपमहागनरपालिका-१० जुगेडाका भग्गु राना ३ वर्षदेखि बगर खेती गर्दै आइरहेका छन्। हिउँदे मौसममा उनको समय बगरमै बित्छ। ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ,’ उनले भने, ‘यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ।’

उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, टमाटर, खुर्सानीलगायत फलफूल, तरकारी फलाउँदै आएका छन्। हिउँदमा पानीको प्रवाह साँघुरिने हुँदा बचेको बगरमा किसान तरकारी एवम् विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन्।

कम खर्चमा राम्रो उत्पादन हुने भएकाले बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएको छ। धनगढी उपमहागनरपालिका-१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त बनेकी छन्।

उनले पनि रानाकै जस्तो फलफूल, तरकारी उत्पादन गर्दै आएकी छन्। ‘बगरमा हुने सबैखाले तरकारी लगाएका छौँ, कमखर्चमा राम्रो उत्पादन हुन्छ’, उनले भने। कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानले सदुपयोग गरिरहेका हुन्।

धनगढीकै जुगेडाकै माया रानाले पनि सात वर्षदेखि बगर खेती गर्दै आएकी छन्। ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छौँ,’ उनले भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ।’

नेपाल-भारत सीमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ।

नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ। बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसान यो समयमा भने बगरलाई तरकारी बाली लगाएर हरियाली बनाउँछन्।

जसले उनीहरूलाई केही राहत दिन्छ। किसान बगरखेतीबाट मासिक ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछन्।

किसानले बगरमा फलाएको तरकारी धनगढीको हाट बजारलगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ। बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ।

बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन्। जुगेडाकै अनारकली रानाले पनि जमिन भाडामा लिएर १० वर्षदेखि तरकारी फलाउँदै आएका छन्।

छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ।

‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौं,’ उनले भने, ‘उनीहरूले हामीलाई सहजै आफ्नो जमिन दिन्छन्।’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुनेहुँदा सबैले यो खेती गर्दैनन्। तर केहीले बगरमै साना टहरा बनाएर यसमा काम गरिरहेका छन्।

विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानले तरकारी खेती गर्दै आएका थिए। अहिले नेपाली पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीय विस्थापित हुन थालेका छन्। -राससको सहयोगमा

प्रकाशित: ५ फागुन २०७९ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast