काठमाडौँ- श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
गएराति सकिएको पहिलो सेमिफाइनलमा भारत ‘ए’लाई ८ विकेटले हराउँदै श्रीलंकाली टोलीले फाइनलमा स्थान बनाएको हो।
भारतले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा लासिथ क्रुसपुल्ले र सिनिथ जयवर्धनेले शतक बनाए।
पहिलो विकेटका लागि क्रुसपुल्ले र जयवर्धनेले १७४ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो अवस्थामा पुर्याएका थिए।
जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन बनाए। क्रुसपुल्लेले १०७ बलमा १२ चौका र तीन छक्कासहित ११६ रन जोडे।
जयवर्धने २२औं ओभरमा आउट भए। त्यसपछि निशान मदुस्काले क्रुसपुल्लेसँग मिलेर टोलीको जितको आधार तयार गरे। क्रुसपुल्ले ३६औं ओभरमा २५० रन पार गरेपछि आउट भए।
मदुस्का ५६ बलमा अविजित ५८ र कप्तान पवन रथनायके १६ बलमा अविजित ३१ रनमा रहे। रथनायकेले तीन छक्का र एक चौका प्रहार गरे। यी दुईले तेस्रो विकेटका लागि अविजित ५३ रनको साझेदारी गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो।
भारतका अभिषेक शर्माले ६३ बलमा ७८ रन बनाए। कप्तान तिलक वर्माले ६६ बलमा ५३ रन जोडे। शाहबाज अहमदले ४८ बलमा अविजित ५४ रन बनाए। वैभव सूर्यवंशीले ४० र तनुष कोटियनले २८ रनको योगदान दिए।
श्रीलंकाका जनिथ लियानागे, निपुन धनञ्जय र रविन्दु फर्नान्डोले समान दुई विकेट लिए। लहिरू समरकुनले एक विकेट हात पारे।
श्रीलंकाले अब उपाधिका लागि पाकिस्तान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।



