काठमाडौँ- एसी मिलानले सिरी ‘ए’ मा पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित हासिल गरेको छ। तीनमा पराजय भोगेको छ। यसकारण मिलानका प्रशिक्षक स्टेफानो पियोली चाहन्छन्, घरेलु लिगको लय च्याम्पियन्स लिगमा नसरोस्। मिलान मंगलबार राति इंग्लिस प्रिमियर लिगको टोटनहमसँग भिड्दैछ।
गत शुक्रबार मिलानले टोरिनोमाथि १–० को जित दर्ता गर्यो। यही नतिजाले मिलानको सात खेलको अपराजित यात्रा टुंगाएको हो। गत सिजन सहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई पछि पारेर लिग च्याम्पियन बनेको मिलान यसपालि खराब लयमा छन्।
मिलान डर्बीमा दुई पटक पराजित भएको पियोलीको टिमले लाजियो र सासुओलोसँग लज्जास्पद हार व्यहोरेको थियो। यस्तोमा पियोलीको विश्वास छ, टोरिनोमाथिको जितले मिलानको खराब प्रदर्शनको शृंखलालाई रोक्नेछ।
‘हामीले प्रदर्शनमा सुधार ल्याउन जरुरी छ। बलियो ढंगमा यो सिजनको समापन गरे मात्र अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाइन सक्छ। यो हाम्रा लागि ठूलो सफलता हुनेछ। तर बाँकी खेलमा हामीले स्थिर प्रदर्शन गनैपर्छ,’ पियोलीले भनेका छन्।
५७ वर्षीय पियोलीले मिलानमा निकै उतारचढाव भोगिसकेका छन्। अक्टोबर, २०१९ मा मिलानको प्रशिक्षक बनेका उनलाई दुई वर्षका लागि दिइएको थियो। सन् २०२०/२१ सिजनका लागि राल्फ राग्निकलाई प्रशिक्षक बनाउने मिलानको लक्ष्य पूरा नभएपछि पियोलीले निरन्तरता पाए।
मिलानले मार्को जियाम्पाओलोको प्रशिक्षणमा सुरुवाती सातमध्ये तीन खेलमात्र जितेको थियो। त्यसपछि मिलानले प्रशिक्षक परिवर्तन गर्ने निर्णय गर्दै पियोलाीलाई भित्र्यायो। उसो त पियोलीको सुरुवात पनि कठिन रह्यो। सुरुका १० खेलमध्ये तीनमा मात्र उनले मिलानलाई विजयी बनाउन सके। सन् २०१९ को उत्तराद्र्धमा एटलान्टासँगको भोगेको ५–० को हार पियोलीका लागि सबैभन्दा बढी पीडादायक थियो।
जनवरीमा ज्लाटन इब्राहिमोभिच सान सिरो फर्किएसँग मिलानको प्रदर्शनमा सुधार आयो। र, अन्ततः मिलान त्यो सिजन छैटौँ बन्यो। पियोलीले दोस्रो सिजन मिलानलाई लिगमा दोस्रो बनाए भने गएको सिजन पहिलो। इन्टरलाई पछि पारेर लिग जित्दा भावुक बनेका पियोलीले भनेका थिए, ‘डेभिड अस्तोरीको मृत्युपछि यो मेरो करियरको अर्को महत्त्वपूर्ण मोड हो।’
मार्च, २०१८ मा धर्ती छाडेका अस्तोरी फियारेन्टिनाका रक्षक थिए। अनि पियोली चाहिँ त्यही टिमका प्रशिक्षक।
मिलानमा पियोलीले लगातार स्थापित खेलाडी गुमाउनु परेको छ। जियानलुइजी डोनारुम्मा र फ्रान्क केसी जस्ता मख्य खेलाडीले छाडे पनि पियोलीले कुनै गुनसो गरेनन्। बरु मिलानलाई सन् २०१४ यता पटक च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा पुर्याउन सफल भएका छन्।
मिलान पछिल्लो पटक च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल खेल्दा एट्लेटिको म्याड्रिडसँग ५–० ले पराजित भएको थियो। यसपालि पियोली पुरानो नतिजामा सुधार चाहन्छन्। च्याम्पियन्स लिगमा रियल म्याड्रिडपछि सर्वाधिक सफल क्लब मिलान इस्माइल बन्नासेर र फिकायो टोमोरीको आगमनले बलियो बनेको छ।
केही समयअघि ड्रेसिङ रुममा भएको झगडा अब समाधान भएकाले पनि पियोलीले राहत महसुस गरेको हुनुपर्छ। झगडा गरेका भनिएका लेफ्टब्याक थियो हर्नान्डेज र कप्तान डेभिड कालाब्रियाबीच हानाहान भएको खबर आएका थिए। तर यी दुईले टोरिनोसँगको खेलपछि सँगै खिचेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।
इटालियन सञ्चारमाध्यममा यी दुई खेलाडीबीच महिला साथीको निहुँमा झगडा भएको खबर आएका थिए। जसलाई दुवै खेलाडीले खण्डन गरेका छन्। ‘हो हामी कोही खेलाडी पनि टिमको प्रदर्शनलाई लिएर खुसी छैनौँ। हामी चाहन्छौँ, यो परिस्थिति फेरियोस्। तर हामी कपोकल्पित हल्ला स्वीकार गर्न सक्दैनौँ,’ कालाब्रियाले भनेका छन्।