ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : रासस
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संगठनको आगामी कार्यभार, विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, विस्थापित सुकुम्बासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको कार्यसूचीमा यी विषय समेटिएका छन्।
बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा विशेष सम्बोधन गरेका थिए।
महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन्।
सरकारका पछिल्ला गतिविधि, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध विषय पनि बैठकको कार्यसूचीमा छन्।
बैठक बुधबार मंसिर ९ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



