फिल्म छायांकनबाट चिनिएको पर्यटकीय क्षेत्र : पाँचथरको चारराते

हिमाल प्रेस ६ मंसिर २०८३ ७:४८ | Sunday, November 22, 2026
2
SHARE
फिल्म छायांकनबाट चिनिएको पर्यटकीय क्षेत्र : पाँचथरको चारराते

काठमाडौँ- पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ।

विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक सयौँका सङ्ख्यामा पर्यटक पुग्न थालेका हुन्।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेडीगोठमा रमाउने अवसर, उच्च पहाडी क्षेत्रको अनुभव सँगाल्न पाइन्छ।

मनोरम प्राकृतिक वातावरणमा रमाउन सकिने भएका कारण चाररातेमा अहिले सयौँको सङ्ख्यामा पर्यटक आइरहेको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले बताए।

उनका अनुसार अहिले फालेलुङको बाटो भएर दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक चारराते क्षेत्र पुगिरहेका छन्।

यहाँ पर्यटक पुग्नुको अर्को कारण सूर्यास्त र हिमशृङ्खलाको आकर्षक दृश्यावलोकन पनि हो। ‘पूर्वमा धेरै ठाउँबाट सूर्योदय राम्रोसँग देख्न सकिन्छ,’ पर्यटन व्यवसायी राईले भने, ‘तर चाररातेबाट सूर्यास्त असाध्यै आकर्षक देख्न सकिने हुँदा पर्यटक आकर्षित भइरहेका छन्।’

उनका अनुसार नेपाल, सिक्किम (भारत) र भुटानका हिमालहरूको दृश्यावलोकनका लागि समेत चारराते क्षेत्र उपयुक्त भएकाले पर्यटक आकर्षित भइरहेका छन्।

यहाँ नयाँ वर्षका दिन आयोजना हुने चौँरी महोत्सव, यहाँ छायाङ्कन भएको ‘उनको स्वीटर’ चलचित्र, सामाचार सामग्री तथा युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालबाट भएको डिजिटल प्रचारका कारण पर्यटक आकर्षित भइरहेको घरबास सञ्चालक डिल्लीहाङ केरुङले बताए।

अहिले चाररातेसहित यहाँ रहेको नेपालको झन्डा आकारको झन्डा पोखरी, जलजले पोखरी, भैँसेपोखरी पनि पर्यटकको आकर्षण बनिरहेका छन्।

समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित चाररातेमा पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै पर्यटक पुग्ने गरेका छन् भने इलामको सन्दकपुरबाट समेत यहाँ पुग्न सकिन्छ।

नेपालतर्फबाट यस वर्ष अत्यधिक मात्रामा पर्यटक पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। भारततर्फबाट भने विगतदेखि नै नियमित रूपमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका थिए।

घरबास सञ्चालक केरुङका अनुसार यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल मोबाइल र क्यामेरामा असाध्यै नजिकजस्तै खिच्न सकिने हुँदा धेरै पर्यटक आकर्षित भइरहेका छन्।

यसपटक बडादसैँ र तिहारको बिदा लामो भएका कारण पनि फुर्सदको समयमा धेरै पर्यटकहरू यहाँ पुगेको केरुङको भनाइ छ।

दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाट यहाँ पुग्न सकिने भएपछि पर्यटक झनै थपिएका हुन्। कात्तिक र मङ्सिर महिना यस क्षेत्रको भ्रमणका लागि उपयुक्त भएको पर्यटन व्यवसायी तथा स्थानीयवासीहरूको भनाइ छ।

विगत केही वर्षदेखि भारतको विभिन्न क्षेत्रका पर्यटकसमेत नेपालको बाटो हुँदै यहाँ पुग्न थालेपछि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउने आशा पनि पलाएको छ।

‘अहिले भारतको बाटो हुँदै धेरै पर्यटक आइरहेका छन्। तीमध्ये आधालाई मात्रै नेपालतर्फबाट लैजान सकियो भने पाँचथरको सदरमुकामसहितका बजारमा पनि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउन सक्छ,’ पर्यटन व्यवसायी राईले भने, ‘यसका लागि थप पूर्वाधार विकासमा जोड दिनुपर्छ।’

अहिले पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा व्यवस्थापनमा भने कठिनाइ परेको छ। सीमित घरबास र गोठबासमा पर्यटकलाई राख्नुपर्ने, खानेपानी र विद्युत् नियमित नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण हुने समस्या रहेको राईले बताए।

‘अहिले आएका पर्यटकलाई राम्रो सुविधा दिन नसक्दा गलत सन्देश जाने जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘यस क्षेत्रमा दीर्घकालीन रूपमा कसरी पर्यटक भित्र्याउने भन्ने हाम्रो चिन्ता हो।’

सवारीसाधनको चाप बढ्नुका साथै फोहरमैला व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

हालै मात्र यस क्षेत्रमा ‘कलेजी उनको स्वीटर–२’ नामको नयाँ चलचित्रको छायाङ्कन भएको थियो। उक्त छायाङ्कनका लागि विपीन कार्की, मिरुना मगरलगायत कलाकारसमेत यस क्षेत्रमा आएपछि पर्यटक झनै आकर्षित भएका छन्।

यहाँ फुलेका बुकीलगायत फूलहरू, ठूला र फराकिला पाटनमा पर्यटक रमाइरहेको पाउन सकिन्छ।

प्रकाशित: ६ मंसिर २०८३ ७:४८ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast