‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याऔँ’

हिमाल प्रेस ५ मंसिर २०८३ १४:४८ | Saturday, November 21, 2026
10
SHARES
‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याऔँ’

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरुले सबैको सहमतिमा शान्तिप्रक्रियाका बाँकी कामहरुलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।

विस्तृत शान्ति सम्झौताका विषयमा शनिबार आयोजित सम्मेलनमा उनीहरुले शान्तिप्रक्रियालाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै सबैको सहमतिमा शान्तिप्रक्रियाका बाँकी कामहरुलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा नेकपा नेता देव गुरुङले विभिन्न आन्दोलनबाट मुलुकमा परिवर्तनसहितको संविधान निर्माण भए पनि अहिले संविधान नै ‘कोमा’ मा रहेको टिप्पणी गरे। उनले जेनजी आन्दोलनपछि बृहत् शान्ति सम्झौतालाई खारेज गर्ने प्रयास भइरहेको टिप्पणी गरे। बृहत् शान्ति सम्झौतालाई कोर्समा ल्याउन तथा सहमतिमा फर्काउन दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको उनको भनाइ छ।

उहाले राष्ट्रिय सहमति बन्न नसके हालको बृहत् शान्ति सम्झौताको कोर्स पूरा हुन सक्ने देखिएको समेत धारणा राखे। विशेषगरी द्वन्द्वरत पक्षहरूबीचको सहमतिबाटै शान्ति प्रक्रियाका बाँकी कामहलाई पूरा गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रिया विगतको ‘ब्यागेज’ नभई राज्यले तत्कालीन विद्रोहीसँग गरेको र अन्तर्राष्ट्रिय समुदाय साक्षी बसेको आधिकारिक दस्तावेज रहेको बताए।

यसलाई इतिहासको बोझ वा भारी भन्न नमिल्ने र यसबाट उम्किन नसकिने उनको भनाइ छ। उनले नयाँ सरकारलाई छिटोभन्दा छिटो संक्रमणकालीन आयोग बनाउन आग्रहसमेत गरे।

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले शान्ति प्रक्रियाको बाँकी कामहरुलाई नेपाली समाजको स्वरूपअनुसार नै निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखिन्। शान्ति प्रक्रिया आफैँमा सकारात्मक प्रभाव भएको र यसले मुलुकको राजनीतिक डिपार्चरमा ठूलो महत्व दिएकाले यसको सम्बोधन र सम्मान हुनुपर्ने उनको भनाइ छ।

उनले शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी र संघसंस्थाहरूसँग समन्वय गरेर सरकारले आयोग बनाउन तयार छ कि छैन भन्ने नै मूल प्रश्न रहेको बताइन्।

प्रकाशित: ५ मंसिर २०८३ १४:४८ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast